arrow

नेपाल-भारत सीमामा तस्करसँग प्रहरीको मुठभेट : एक मारिए, जाली नोट बनाउने मेसिन बरामद

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
taskar-mudbhet.JPG

 कञ्चनपुर । भारतीय तस्कर र नेपाल प्रहरीको भिडन्त भएको कञ्चनपुरको बेलौरी नगरपालिका-८ टेडियाबाट प्रहरीले लागू औषध र जाली नोट बनाउने उपकरण बरामद गरेको छ।  बिहीबार साँझ नेपाल-भारत सीमा टेडियामा भारतीय तस्कर र गस्तीमा रहेका प्रहरीबिच मुठभेट हुँदा एक तस्करको मृत्यु भएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर थापाका अनुसार जवाफी कारबाहीका क्रममा भारतको पिलिभित थाना हजारा बुदान-४ बस्ने २२ वर्षीय गोविन्द सिंह मारिएका हुन्।

कञ्चनपुरको सीमा क्षेत्रमा व्याप्त तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय प्रहरीले कडा निगरानी राखेको छ। यही क्रममा बिहीबार बेलौरी नगरपालिका-७ पौलहाबाट भारतीय तस्करले लागू औषध नेपाल भित्र्याइरहेको सूचना प्रहरीले पाएको हो।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी बाट प्रहरी नायव निरीक्षक यज्ञराज पनेरुको नेतृत्वमा ५ जना प्रहरीको टोली त्यहाँ पुग्दा झोला भिरेर नेपालतर्फ आइरहेका चार भारतीय तस्करसँग जम्काभेट भएको हो।

झोला खानतलासी गर्न खोज्दा ती तस्करले गोली चलाएको प्रहरीले जनाएको छ। प्रतिरक्षाका लागि प्रहरीले पनि गोली चलाउँदा एक तस्करको मृत्यु भएको हो। बाँकी ३ जना भने भारततर्फै भागेका छन्। सिंहको शव प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ। भारतीय तस्करको आक्रमणबाट एक जना प्रहरी जवान सामान्य घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ।

‘यो समूह लामो समयदेखि लागू औषध र नक्कली नोट बनाउने अपराधमा संलग्न रहेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले भने ‘यस्ता क्रियाकलाप गर्नेप्रति हामीले कडा निगरानी राखेका छौँ।’ उनका अनुसार घटनास्थलबाट ठुलो मात्रामा लागू औषध र नक्कली नोट बनाउने मसिन बरामद गरिएको छ।

करिब ६५ ग्राम ब्राउन सुगर, २४.८६ ग्राम ह्वाइट सुगरजस्तो देखिने सेतो पदार्थ, नक्कली नोट बनाउने दुई थान मसिन, ३.४५ ग्राम कालो पाउडर, एफोर साइजको पेपर, ५०० भारु बराबर साइजको काटिएको सेतो कागज, कागज काट्ने धारिलो चक्कु, रुलर र एक थान भिबो मोबाइल बरामद गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ