arrow

रुकुमका किसानहरु अलैची खेतीबाट लाखौं आम्दानी गर्दै

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ असार ८ बुधबार
farmer.JPG.jpeg
रुकुम। रुकुमको मुरु गाविस वडा नं. ३ का रेशम बहादुर पुन केही वर्ष पहिलेसम्म आफ्नो घरखर्च चलाउने पैसा कमाउनको लागि भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । आर्थिक अवस्था कम्जोर भएका कारण घरखर्च चलाउन र छोराछोरीलाई पढाउनको लागि भारतका विभिन्न ठाउँमा गएर पैसा कमाउने गथ्र्ये । तर तीन वर्ष पहिलेदेखी उनको दैनिक परिवर्तन भएको छ। आफ्नै खेतवारीमा तीन वर्षदेखी अलैची खेती सुरु गरेका उनको दैनिकी परिवर्तन भएको हो। अलैची खेती सुरु गरेपछि उनले बर्षेनी लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्। 
 
गत बर्षमात्र उनले एक सय ३५ किलो अलैची बेचेर पौने तीन लाख रुपैयाँ आम्दानी गरेको रेशमले बताए। देशमा रोजगार छैन भन्दै दैनिक युवाहरु विदेशीरहेको बेलामा उनी गाउँका सफल कृषक बन्न सफल भएका छन्। दुई विगाह भन्दा वढि क्षेत्रमा अलैची खेती गरेका उनले अहिले राम्रो आम्दानी भएको र काम गर्नेहरुलाई गाउँघरमै प्रसस्त मात्रामा रोजगारी रहेको बताए। अलैची खेतीबाटै अहिले आफ्ना १० जनाको परिवारको खर्च व्यवस्थापन गर्न र छोराछोरीलाई पढाउन पनि निकै सजिलो भएको उनको भनाई रहेको छ। जिल्ला कृषि विकास कार्यालय रुकुमले पनि अलैची खेतीलाई विशेष प्राथामीक्ताका साथ प्रवद्र्धन गरिरहेको छ। 
 
अलैची खेतीलाई व्यावसायिक खेतीको रुपमा विकास गर्नको लागि यस आर्थिक वर्षमा कृषि विकास कार्यालयले जिल्लाभर ५० प्रतिशत अनुदानमा ७० हजार भन्दा वढि विरुवा वितरण गरिने र कृषकहरुलाई अलैचीका विरुवा जिल्लामा नै उत्पादन गर्ने सम्बन्धि क्षमता विकास गराउन आवश्यक तालिम पनि दिन लागिएको जिल्ला कृषि विकास कार्यालय रुकुमका बरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईले बताए। जिल्लाका मुरु, भलाक्चा, चौखावाङ्ग, मुसिकोट, रुकुमकोट, लगायतका ठाउँमा अलैची खेतीको लागि राम्रो सम्भावना रहेको बरिष्ठ कृषि विकास अधिकृत हुमागाईको भनाई रहेको छ। गत वर्षबाट प्राथामीक वालीको रुपमा अलैचीलाई प्रवद्र्धन र विस्तार गरिरहेको कृषि विकास कार्यालयको भनाई रहेको छ।
 
जिल्लामा अहिले अलैची खेती गर्नहरुको लहर नै चलेको छ। थोरै दुःख गरेर पनि राम्रो आम्दानी हुने भएपछि अलैची खेती गर्ने कृषकको बृद्धि भएको बताएको छ। रुकुममा अलैची खेतीको राम्रो सम्भावना रहेको र यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने बरिष्ठ कृषि विकास अधिकृत हुमागाईको भनाई छ। किसानहरु आकर्षी भएको अलैची खेतीलाई अझै व्यापक गर्नको लागी जिल्ला कृषकहरु र जिल्ला कृषि विकास कार्यालयले प्रभावकारी कार्यक्रम बनाएर जिल्लाभरमा नै विस्तार गर्ने सकेमा गाउँमै रोजगारीको विकास भएर दिनानुदिन युवाहरु विदेशीनु पर्ने समस्या समधान हुनेथियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ