भद्रपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुट्टाले गएको तीन आर्थिक वर्षमा कुल तीन हजार ६१७ वटा मुद्दा दर्ता भएकोमा दुई हजार ९३९ थान मुद्दा फछ्र्योट भएको जनाएको छ।
सरकारी कामकाजलाई चुस्त एवम् दुरुस्त बनाउन, राजस्वलाई सही सदुपयोग गर्न, विकास खर्चलाई उपयोग गर्न, सरकारी कार्यालयमा अनुचित लाभ तथा हानीको काम हुन नदिन र आम नागरिकप्रति उत्तरदायी रहन सबै सरकारी कार्यालयका प्रम्ुख एवम् प्रतिनिधिलाई प्रतिवेदनले सचेत गराएको छ।
प्रतिवेदनमा आव ०७०-७१ मा एक हजार ३५२, आव ०७१-७२ मा एक हजार ५६७ र आव ०७२-७३ मा ६९८ थान मुद्दा दर्ता भएकोमा कुल दुई हजार ९३९ थान फछ्र्योट भई ६७८ थान मुद्दामा अनुसन्धान एवम् छानबिन भइरहेको उल्लेख गरिएको छ।
सो अवधिमा झापामा कुल ३४० उजुरी परेकोमा २९८ फछ्र्योट भएको र ४२ थान मुद्दा फछ्र्योट हुने क्रममा रहेको क्षेत्रीय कार्यालय प्रमुख रविन्द्रनाथ शर्माले जानकारी दिए।
कार्यालयले फछ्र्योटको क्रममा कुन कार्यालयका पदाधिकारीलाई कारबाही भएको हो त्यो उल्लेख गरेको छैन। झापामा सबैभन्दा बढी शिक्षा कार्यालय विरुद्ध ७३ थान, स्थानीय निकायअन्तर्गत ६८, भूमि कार्यालयअन्तर्गत ५१, वनका ३१, कृषिका १०, गृहका १६, भौतिकका १४, सहरीका १५ र अन्य ६१ थान मुद्दा दर्ता भएको थियो। रासस