काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्हाकार प्रमोद दाहालले राससलाई जानकारी दिए।
देउवा–दाहाल भेट
यसअघि अध्यक्ष दाहालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठ पुगेर भेट गरेका थियो । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।
अध्यक्ष दाहालको अष्ट्रेलिया भ्रमण स्थगित
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आजबाट गर्न लाग्नुभएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर स्थगित गरेका छन्।
जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनलाई उद्घाटन गर्न आज त्यसतर्फ जान लाग्नुभएका अध्यक्ष दाहालले पार्टी काम तथा राष्ट्रिय मुद्दामा नै केन्द्रित हुनुपर्ने भएकाले भ्रमण स्थगित गरेका हुन्।
अध्यक्ष दाहालको सचिवालयका अनुसार सदनमा प्रस्तुत भएको बजेट पारित गर्नुपर्ने तथा पार्टी काममा नै व्यस्त हुनुपर्ने भएकाले भ्रमण स्थगित भएको हो।
अन्तिम समयमा आएर भ्रमण स्थगित भए पनि जनप्रगतिशील मञ्चको कार्यक्रममा भने माओवादी केन्द्रको विदेश विभागका सदस्यले सहभागिता जनाउने बताइएको छ। रासस