arrow

लुटियो क्षेत्रीका परिवारको खुसी

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Afganistan_Attack.jpg.jpeg
फलेवास (पर्वत)। प्रसस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसय बनाउँला, छोराछोरीको पठनपाठन र लालनपालन गरौला भन्ने सुनौलो सपना बोकेर विदेशिएको मात्र ११ दिन पुगेको थियो।
 
‘हुने हार दैव नटार’ भनेझै केवल त्यो सपना र त्यो परिवारको खुसी लामो समय टिक्न सकेन पर्वतका दुई युवाको परिवारमा। बाबु घरबाट जान दिन फर्केर आउने बेला छोराछोरीले राखेका माग पनि आशमै हराए, श्रीमतीको सिउँदो पुछियो, घरपरिवार, आफन्त र सिङ्गो गाउँलाई नै शोकाकुल बनाएर संसारबाट बिदा भए दुई प्रवासी युवा।
 
प्रसङ्ग हो काबुल घटनाको। अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी पर्वतका दुई जनाको ज्यान गयो।
 
ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका–२ स्थायी घर भई परिवारसहित काठमाडौँ गोङ्गबु बस्दै आएका विदुरबहादुर सुवेदी क्षेत्री र पर्वतकै कार्कीनेटा गाविस–६ का नवीनबहादुर क्षेत्रीको परिवार र गाउँ अहिले शोकमा डुबेको छ।
 
कुश्मा नगरपालिका–२ पाङका विदुर परिवारसहित काठमाडौँमा बस्दै आएका थिए। गत महिना छुट्टिमा आएका सुवेदी क्षेत्री ११ दिन अघिमात्रै २८ जेठको उडानमा त्यहाँ पुगेका थिए। परिवारका चार भाइमध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकाश प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानिस्तान पुगेका हुन्। स्थानीय छिमेकी चित्रबहादुर क्षेत्रीका अनुसार उनका दुई छोरा र श्रीमती काठमाडौँको गोङ्गबुमा बस्दै आएका छन्।
 
उनको जन्म गाउँ पर्वतको कुश्मा नगरपालिका–२ पाङको गाउँ भने उनको मृत्युको खबरले शोकमा डुबेको छ। आक्रमणमा परि १२ जनाको मृत्यु भएको थियो।
 
यता नवीन क्षेत्रीको मृत्युको खबरले पनि कार्कीनेटा शोकमा डुबेको छ। सशस्त्र प्रहरी बलमा कार्यरत रहेर अवकाश प्राप्त भएपछि २०६५ सालदेखि अफगानमा सेक्युरेटी गार्डमा रोजगारीका लागि गएका थिए। उनी बेलाबखत घरमा आउने जाने क्रममा जेठ २८ गतेकै दिन अफगान प्रस्थान गरेका थिए।
 
कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुन्। उनका बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन्। उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको क्षेत्रीका दाइ (मामा छोरा) कमल खत्रीले जानकारी दिए।
 
लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि मनग्गे आम्दानी नभएपछि घरपरिवार, छोरीको विवाहदान राम्रोसँग गरौला भन्ने सपना बोकेर उनी विदेशिएका थिए। उनको मृत्युपछि घरपरिवार भावविह्वल बनेको छ।
 
उनी गत जेठ ८ मा गाउँमै आएर पूजा लगाएर अब एकपटक अफगानिस्तान जाने त्यसपछि नजाने बताएका थिए। अफगानिस्तान असुरक्षित छ कति बेला के हुन्छ थाहा छैन त्यसैले धेरै समय त्यहाँ बस्नु उचित छैन भनेको स्थानीयवासी विश्वराज शर्माले स्मरण गर्दै भने, “अब ऊ कहिल्यै नफर्किने भयो।”
 
समाजमा निकै सरल, मिठो बोली भएका उनी परिवारका माइला छोरा हुन्। उनका बाबुको विगत दुई वर्षअघि मात्रै निधन भएको थियो । अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै आएकी छिन्। अहिले उनका चार दाजुभाइ र परिवार उनको शवको प्रतिक्षामा राजधानीमा गएका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ