arrow

ओली समूहको रणनीति : प्रधानमन्त्रीको राजीनामा कि सभामुखलाई महाअभियोग ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २२ शनिबार
kps.JPG

काठमाडौँ। संसद् बैठक प्रारम्भ हुनु अघिको राजनीतिमा धेरै उतारचढाव आउने सम्भावना देखिँदै छ। सत्तारुढ दलमा आएको विग्रहसँग सांसदभित्र र बाहिर उतार चढावको सम्भावना देखिएको हो।

प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा बहुमत पुगेको दाबी गरिए पनि खासमा बहुमत सदस्यहरू उपस्थित नभएपछि नेकपा ओली समूहले सबै प्रकारका सम्भावनालाई  विकल्पको रूपमा अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवाज आइरहेको बेला ओली पक्षले भने तत्कालै राजीनामा नदिने बरु सामना गर्ने बारेमा छलफल गरिरहेको छ। आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि ओलीले त्यसलाई सदनबाटै सामना गर्ने बताइरहँदा शनिवार दिउसो प्रतिनिधि सभाका सांसदहरूलाई छुट्टा छुट्टै हस्ताक्षर गराएर राखिएको छ।

खास गरी प्रतिनिधि सभामा आफ्नो दलका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा अघि नै प्रतिनिधि सभामा सभामुखका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने उद्देश्यले त्यसो गरिएको हुनसक्ने आङ्कलन गरिए पनि प्रधानमन्त्री ओली निकटका नेताहरूले यो विषयमा मुख खोल्न चाहेका छैनन्।

‘यस्तो विषय हामीलाई जानकारी छैन प्रधानमन्त्रीज्यूले सांसदमै फेस गर्ने भन्नु भएको छ’, संसदीय दलको बैठकमा सहभागी भए सांसदले भने । ओली समूहले यति बेला संसदीय दलमा आफ्नो बहुमत पुर्‍याउने कोसिस गरिरहेको छ । बहुमत पुगेमा अविश्वासको प्रस्ताव फेस गर्ने नत्र अन्य विकल्पकालाई प्रयोग गर्ने सो समूहको तयारी रहेको स्रोतको दाबी छ। ‘अहिले नै केही भन्न सक्ने अवस्था छैन पार्टीलाई एक गराउने विषयमा पनि कुराकानी हुनसक्छ होइन भने सांसदभित्रबाट विकल्प खोज्ने क्रममा अन्य विषयहरूको बारेमा पनि छलफल हुनसक्छ’, स्रोतको दाबी छ। उच्च स्रोतका अनुसार सभामुखलाई महाअभियोग लगाएपछि ज्येष्ठ सदस्यले संसद्को कामकारबाही अघि बढाउनु पर्ने हुन्छ त्यसो हुँदा सरकारले कुनै पनि बिजनेस नदिँदा संसद् बेकामे हुन्छ काम विहीन भएको संसद् एक दुई दिनमै अन्त्य भएको घोषणा गर्ने सम्भावना पनि रहेको छ । त्यति गर्दा पनि भएन भने ओलीले ढिलो गरी विप्लव समूहसहितको राष्ट्रिय सहमतिको सरकारको घोषणा गर्ने सम्भावना पनि उत्तिकै रहेको छ।

शनिवारको संसदीय दलको बैठकमा ओलीले आफ्ना समूहका सांसदलाई कसैको दबाब र प्रभाव नपर्न निर्देशन मात्रै दिएनन् उनले संसदीय दलमा बहुमत सदस्यहरू पुर्‍याउन दाबी समेत गरेका थिए । ‘प्रचण्ड–नेपालले माननीयहरूलाई विभिन्न रूपमा भ्रममा पार्ने, दबाब दिने गर्लान्, घेराबन्दीमा परेर आउन सकिनँ नभन्नुहोला’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘तपाईँहरू त माननीय हो, यस्तो कुरामा डटेर सामना गर्नुपर्‍यो।’ प्रधानमन्त्री ओलीको यस्तो कुरा सुनेर निस्केका सांसदहरूले बहुमत पुग्ने विषयमा अनेक जोड घटाउ गरेको भए पनि कसैगरी पनि बहुमत नपुग्ने देखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ