काठमाडौं । व्यवस्थापिका संसदको शक्तिशाली मानिने संसदीय सुनुवाई विशेष समिति सभापतिमा कांग्रेस सांसद कुलबहादुर गुरुङ निर्विरोध चयन भएका छन् । गुरुङ यसअघिको समिति सभापति समेत रहिसकेका छन् । संसदीय समितिको सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा गरुङको मात्रै एकल प्रस्ताव परेकाले निर्विरोध चयन भएका हुन् ।
दलहरुबीच यसअघि नै गुरुङलाई सभापति बनाउने सहमति भइसकेकामा नयाँ नियमावली अनुसार निर्वाचन प्रक्रियामा जानु पर्ने भएकाले मंगलबार संसद सचिवालयको सूचनानुसार प्रस्ताव दर्ता भएको कांग्रेस प्रमुख सचेतक एवं संसदीय सुनुवाई विशेष समिति सदस्य चीनकाजी श्रेष्ठले बताए । वुधबार निर्वाचनका लागि तोकिएको समयमा एमाले सांसद एवं ससदीय समिति सदस्य गणेशमान गुरुङले राखेको प्रस्तावमा श्रेष्ठले सर्थन जनाएपछि केबि गुरुङ निर्विरोध चयन भए ।
प्रस्ताव दर्ता गर्दा समेत गणेशमान र चीनकाजी नै प्रस्तावक समर्थक थिए । संसदीय समितिको सभापति चयनसंगै अब सरकारले सिफारिस गरेका विभिन्न संवैधानिक निकाय, न्यायपरिषद् र विदेशस्थित कुटनीतिक नियोकमा नियुक्तिका लागि बाटो खुला भएको छ । सरकारले सिफारिस गरेका निर्वाचन आयोगको प्रमुख आयुक्त, न्यायपरिषद् सदस्य, प्रधानन्यायाधीश र विभिन्न २२ देशको राजदूत नियुक्तिको सुनुवाई समतिले गर्ने छ ।
समितिमा विपक्षी कांग्रेसको एक तिहाई बढी उपस्थिति छ भने, सत्ताधारी एमाले र माओवादी केन्द्र मिलाएर कांग्रेस बराबर उपस्थिति छ । केही दिन अघि मात्रै नयाँ नियमावली पारित गर्दा सत्ताधारीको १ र विपक्षीको १ प्रस्ताव पारित भएको थियो । सत्ताधारीको १५ सदस्यीय समिति र विपक्षीको सुनुवाई गर्दा दुई तिहाईले अस्वीकृत गरेमा मात्रै अस्वीकृत हुने प्रस्ताव पास भएको थियो ।