- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन के गर्ने भन्ने निष्कर्षमा नपुगेको बताएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने सन्दर्भमा कुनै निष्कर्षमा नपुगिएको प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पार्टी मुख्यालय पेरिस डाँडामा मङ्गलवार बसेको माओवादी स्थायी कमिटीको बैठकले बैठकले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न यही फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र आगामी चैत १ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।
साथै सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ । बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको हो ।
बैठकले नेकपा (एमाले)सँग पनि वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “मुख्यतः प्रमुख प्रतिपक्षी र जनता समाजवादी पार्टीसँग संसद् सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल गर्ने निर्णय भएको छ”, उनले भने।
सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्वावस्था ब्युँतिएको फैसला गरेको थियो ।
सोही फैसलाका आधारमा मङ्गलवार माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी स्थायी कमिटी सदस्य रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट सहभागी भएका थिएनन् ।