परासी । ९ वर्ष पछि पहिलो पटक भएको तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनबाट महन्थ ठाकुर निर्विरोध चयन भएका छन् । नवल परासीको रामग्राममा जारी महाधिवेशनमा बरिष्ठ उपाध्यक्षमा पुनः हृदयेश त्रिपाठी र उपाध्यक्षमा वृशेषचन्द्र लाल निर्विरोध भएका छन् ।
स्थापनाकालदेखि नौ वर्षसम्म निरन्तर अध्यक्ष रहेका ठाकुर पहिलो महाधिवेशनबाट समेत अध्यक्ष चुनिए । ठाकुर विद्यार्थी कालबाटै कांग्रेसमा आवद्ध रहे । पछि उनले कांग्रेस कोषाध्यक्ष र मन्त्री त्याग गर्दै २०६४ सालमा नयाँ पार्टी दर्ता गरेका हुन् ।
अध्यक्षका अर्का दावेदार गोविन्द चौधरीले ठाकुरलाई समर्थन गरेपछि निर्विरोध चयन भए ।
यस्तै, बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका वीपी यादवले फिर्ता लिएपछि हृदयेश त्रिपाठी निर्विरोध भए । उपाध्यक्षमा शंकरलाल चौधरी पछिहटेपछि वृशेषचन्द्र लाल समेत सर्वसम्मत छानिए । यस्तै, आदिवासी जनजातीतर्फका ५ केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् ।
अन्य पदाधिकारीहरुमा निर्वाचन हुने र निर्वाचनको प्रक्रिया अघि बढेको उपाध्यक्ष वृशेषचन्द्र लालले हाम्राकुरालाई जानकारी दिए । लाल कुरा गर्दै गर्दा बाहिर नाराबाजी भइरहेको थियो । लालका अनुसार महामन्त्रीमा ५ जना र सहमहामन्त्रीमा १४ जना आकांक्षी रहेका छन् । कोषाध्यक्षमा समेत ३ जना आकांक्षी छन् । जसमा अझै सर्वसम्मतीको प्रयास भइरहेको छ ।
दुई महामन्त्रीका लागि ५ उम्मेद्वार
पूर्व मन्त्री वृजेश गुप्ता
सांसद जंगीलाल राय यादव
पूर्व महामन्त्री जितेन्द्र सोनल
पूर्व मन्त्री उमाकान्त झा
वीरजन्जका पूर्व मेयर विमल श्रीवास्तव
निर्वाचन वुधबार रातिबाट हुने भएको छ । निर्वाचनपछि दुई महामन्त्री, दुई सह–महान्त्री एक कोषाध्यक्ष सहित ८१ सदस्यीय केन्द्रीय समितिको टुंगो लाग्ने छ ।