arrow

सुदुरपश्चिममा दरबन्दीअनुसार विशेषज्ञ डाक्टर छैन

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
doctor-banner.jpg.jpeg
बैतडी। सुदूरपश्चिममा दरबन्दीअनुसार चिकित्सक पदपूर्ति नहुँदा समस्या भएको छ । यसका कारण स्थानीय जनता बिरामी पर्दा भारतका अस्पताल जान बाध्य छन् । 
 
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा गरी कुल ६० जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ । अहिले कुल दरबन्दीमा १२ जना मात्र विशेषज्ञ डाक्टर सुदूरपश्चिमका स्वास्थ्य संस्थामा कार्यरत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा अमर भण्डारी बताउनुभयो । उहाँले भन्नुभयो – “४८ जना विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त रहेको छ ।” 
 
पच्चीस लाखभन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको दरबन्दी न्यून रहेको र त्यसमाथि पनि पदपूर्ति नहुँदा यस क्षेत्रका नागरिक समस्यामा परेको स्थानीय समाजसेवी हेमराज गिरीले बताउनुभयो । 
 
स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य खालकै स्वास्थ्य समस्या देखिए पनि भारत धाउनु पर्ने बाध्यता रहेको छ । समाजसेवी गिरीले भन्नुभयो – “२५ लाखभन्दा बढी जनसङ्ख्या भएको सुदूरपश्चिममा १२ जना मात्रै विशेषज्ञ डाक्टर हुनु चिन्ताको विषय हो ।” 
 
अहिले सुदूरपश्चिमका चार वटा स्वास्थ्य संस्थामा मात्रै विशेषज्ञ डाक्टरको दरबन्दी तोकिएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर र जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टरको दरबन्दी छ । 
 
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एक जनाको पनि पदपूर्ति हुन सकेको छैन । अहिले एक जना विशेषज्ञ करारमा सेवा दिइरहेका छन् । कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा २१ जना विशेषज्ञको दरबन्दी भए पनि ११ जनाको मात्रै पदपूर्ति भएको छ । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा कुल १९ जनाको दरबन्दी भएकामा एकजनाको पनि पदपूर्ति हुन नसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । जिल्ला अस्पताल बैतडीमा रहेको विशेषज्ञको एक दरबन्दी भने पदपूर्ति भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा भण्डारीले जानकारी दिनुभयो । 
 
विशेषज्ञ डाक्टरसँगै सुदूरपश्चिममा मेडिकल अधिकृतको समेत ठूलो सङ्ख्यामा दरबन्दी रिक्त रहेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ