काठमाडौं। संसदको ठूलो दल तथा सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय समितिहरुमा पार्टीको भूमिका प्रभावकारी बनाउन संयोजकहरु तोकेको छ। काँग्रेस सभापति शेर बहादुर देउवाको सभापतित्वमा संसदीय दलको कार्यसमितिको बिहीबार विहान बसेको बैठकले संसदमा रहेका १२ वटा समितिमा पार्टीका तर्फबाट संयोजक तोकेको हो।
समितिहरुमा विधेयकहरुमाथि तथा विभिन्न मन्त्रालयका कामकारवाही सम्बन्धमा हुने छलफलमा प्रभावकारीरुपमा आवाज उठाउनका लागि संसद्का १२ वटै समितिमा संयोजक तोकिएको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए। संसदमा विचारीधान विधेयक र समितिहरुको छलफललाई प्रभावकारी बनाउन विषयगत रुपमा संयोजक तोकिएको श्रेष्ठले बताए। पछिल्लो समयमा अर्थ समितिमा पार्टीका सांसद्हरुले सशक्तरुपमा आवाज उठाउन नसकेका कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन बाफियालाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमाथिको प्रतिवेदन विवादित बन्न पुगेको निष्कर्षमा पुगेको काँग्रेसले सबै समितिहरुमा संयोजक तोकेको हो।
काँग्रेसले लेखा समितिमा भरतकुमार शाह, अर्थ समितिमा मोहन बराल, राज्यव्यवस्था समितिमा नविन्द्रराज जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बलबहादुर केसी, कृषि तथा जलस्रोत समितिमा सुधिर शिवाकोटी र विकास समितिमा जीवनबहादुर शाही, उद्योण वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा अम्बिका बस्नेत, सामाजिक न्याय तथा मानवअधिकार समितिमा मोख्तार अहमद, महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा जीवन परियार, सुशासन तथा अनुगमन समितिमा पद्मनारायण चौधरी, विधायन समितिमा तारिणीदत्त चटौत र वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मालाई संयोजक तोकिएको श्रेष्ठले जानकारी दिए।