सप्तरी । नेपाल प्रेस युनियनका शाखा सप्तरीका सदस्य तथा स्थानीय ग्रिन मधेश दैनिकका सम्वाददाता निरज कुमार मंडल भौतिक आक्रमणको शिकार भएका छन् । प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे जति बहस भएपनि सप्तरीमा पत्रकार सुरक्षित छैनन् । पटक–पटक पत्रकारहरुमाथि भौतिक आक्रम हुँदै आएको छ ।
असार ४ गते समाचार संकलन गर्न जिल्लाको लालापट्टी गाविस–६ स्थित पोखरी तथा कूलो निर्माण गर्न गठित उपभोक्ता समिति र सोसंग सम्बन्धित अन्य जानकारी लिन जाँदा सोही गाविस –२ बस्ने ३५ वर्षीय धीरेन्द्र यादव, नवल यादव, भुपेन्द्र यादव, वार्ड नम्बर १ बस्ने परमानन्द यादव र वडा नम्बर ४ बस्ने छेदी रामले आफु सिचाई मन्त्रीको मान्छे हुँ भन्दै पत्रकार मंडललाई हातपात, कुटपिट गरेका हुन् ।
मण्डललाई ज्यान मार्ने सम्मको धम्की दिदै उनीहरुले कुनै प्रहरी प्रशासनले बचाउन नसक्ने भन्दै अन्धाधुन्द प्रहार गरेका छन् । जसले शरीरको विभिन्न भागमा चोट लागेको छ । स्वतन्त्र र निर्विवादरुपले पत्रकारले समाचार संकलन गर्न पाउनुपर्नेमा यसरी भएको भौतिक आक्रमणले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गराउन खोन्दा मन्त्रीको प्रभावमा पररे मुद्दा दर्ता गर्न नमानेको बताइएको छ ।