काठमाडौं । सरकारले हालै जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाबारे ज्ञापन पत्र दिन संचारमन्त्रालय पुगेका प्रेस चौतारीका नेताहरुलाई संचारमन्त्रालयका सचिवले मन्त्रीकै अगाडी हपारेका छन् । संचार सचिव दिनेश थपलियाले ज्ञापनपत्र बुझाउन गएका चौतारी नेताहरुको हुर्मत लिएका हुन् । ज्ञापनपत्र वुझाउन सन्चारमन्त्रालय पुगेका प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल र पूर्व महासचिव विष्णु रिजाल लगायतका नेताहरुलाई सचिव थपलियाले ठाडै हकारेका हुन् ।
ज्ञापनपत्र बुझाउन गएका चाैतारी नेताहरुले भने, ‘हामीले प्रेस चौतारी र आफ्नै प्रेस सल्लाहकारसंग सल्लाह किन नगरेको भन्दा सचिवले कुनै संगठनसंग समन्वय गर्न मन्त्रालय जरुरी ठान्दैन । प्रेस चौतारी वा प्रेस सल्लाहकार कसैलाई सोध्न जरुरी छैन । तपाईहरुको जस्तो संगठनलाई सोध्न के यो मन्त्रालय टुंडिखेल हो र ? ।’ थपलिया संचारमन्त्री शेरधन राईले रोजेर लगेका सचिव हुन् ।
संचारमन्त्रीका प्रेस सल्लाहकारले समेत अपमानित भएपछि राजीनामा दिएको चौतारी नेताहरुले बताए । यद्यपि, उनीहरुले प्रेस सल्लाहकारको राजीनामाको कारण त्यति मात्रै नभएको बताए । चौतारीका एक नेताले भने, ‘मातृकाजीले पहिले देखिनै निर्देशिकाप्रति असन्तोष राख्दै आउनु भएको थियो ।मन्त्रीकै अघि अपमान भएपछि झन् आजित भएर तत्काल राजीनामा दिएका हुन्।’
गत जेठ ३१ गते बसेको मन्त्रीपरिषदको बैठकले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दे्शिका २०७३ जारी गरेको थियो । निर्देशिकाको व्यवस्था संविधान विपरित रहेको भन्दै चौतर्फी विरोध भएको छ । निर्देशिकामा संविधानको धारा १९ (२) मा कुनै श्रव्य, श्रव्यदृश्य तथा समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न नपाइने व्यवस्था राखिएको छ ।