काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संघीय गठबन्धनको रिल अनसनमा ऐक्यबद्धता जनाएका छन् । विहिबार देउवाले काठमाडौंको खुला मञ्च पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ‘तपाईहरुको जायज माग पुरा गर्न कांग्रेस पूर्ण तयार छ’ –भने ।
विहान संसदीय दलको बैठक सकेर देउवा खुलामञ्च हानिएका हुन् । बैठकमा सरकारलाई कस्नेबारे छलफल भएको बताइएको छ । देउवालाई संघीय गठबन्धनका नेता अशोक राईले अनसन स्थलमा स्वागत गरे । सद्भावनाका शीर्ष नेताहरु भने विहिबार अनसन स्थिलमा देखिएनन् ।
नयाँ संविधानप्रति असन्तुष्ट मधेसी तथा जनजाती सहितका २९ घटकहरु जेठ २५ बाट रिले अनसन बसेका छन् । अनसन असार अन्तिम सम्म चल्ने छ । गठबन्धनमा आवद्ध मधेसवादी दलहरुले गठबन्धन सहितको प्रतिनिधित्व हुनेगरे वार्ताको वातावरण बनाउन भन्दै सात बुँदे शर्तसहित सरकारलाई केही दिन अघि मात्रै जवाफ पठाएको छ । सरकारले विना तयारी आफुहरुलाई वार्तामा बोलाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सात घटकले सरकारले गरेको पत्राचारको जवाफ पठाएका थिए ।
पाँच महिना लामो नाका केन्द्रीत आन्दोलनपछि काठमाडौं छिरेका मधेसवादी दलहरुले गठबन्धनमार्फत जेठ १ गतेदेखि काठमाडौं केन्द्रित गतिविधि गरिरहेका छन् । सरकारसंगको वार्ताका लागि आफुहरु जुन सुकै बेला तयार रहेको भएपनि वार्ताको आधार बनाएर मात्रै पत्राचार गर्न उनीहरुले सुझाएका छन् । मधेसी मोर्चाले राखेको ११ बुँदेसहित गठबन्धनले २६ बुँदे मागको सुनुवाई खोजिरहेको छ ।