arrow

खोप अभियान

नेपालमा पहिलो चरणमा १६ लाखले लगाए खोप, दोस्रो चरणका लागि ७ लाख डोज मौज्दात

सरकार भन्छ: 'चाँडो भन्दा चाँडो थप खोप भित्र्याउने तयारीमा छौं'

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
Vaccine-Covid-Corona-Nepal.jpg

काठमाडौं । नेपालमा हालसम्म १६ लाख ७५ हजारभन्दा बढी मानिसले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक शर्माका अनुसार बिहीबारसम्मको सङ्कलित तथ्याङ्क अनुसार दोस्रो चरणको खोप अभियानमा गरी १६ लाख ७५ हजार भन्दा बढीले खोप लगाएका हुन् । 

माघ १४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा ४ लाख २९ हजारले खोप लगाएका थिए । त्यसपछि फागुन २३ गतेदेखि ६५ वर्ष माथिका नागरिकहरूलाई खोप लगाउने गरी दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । चैत ३ गते दोस्रो चरणको खोप अभियान सकिएको छ ।

पहिलो दुई चरणमा १६ लाखले खोप लगाए पनि दोस्रो डोजका लागी चाहिने थप १६ लाख डोज खोप अहिलेको मौज्दातका हिसाबले अपुग हुने देखिएको छ। 

दोस्रो डोज खोप लगाउनका लागि वैशाख ७ गतेदेखि  अभियान शुरु हुने भएको छ। पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, पत्रकार, बैंकर आदिले दोस्रो डोज खोप लगाउने छन्। 

ज्येष्ठ नागरिकहरूको हकमा समय बाँकी रहे पनि सरकारले भुक्तानी दिइसकेको १० लाख खोप भारतबाट आउन सकेको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार सबै तयारी योजनाबद्ध र चरणबद्ध रूपा भइरहेकाले आत्तिनु पर्ने स्थिति नरहेको बताइएको छ। 

२३ लाख डोज खोप मात्रै भित्रियो
हालसम्म नेपालमा भारत सरकारले अनुदान दिएको १० लाख डोज, कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा आएको ३ लाख ४८ हजार डोज र सरकारले खरिद गरेको २० लाखमध्ये भित्रिएको १० लाख डोज गरी २३ लाख ४८ हजार डोज खोप नेपाल भित्रिएको छ ।

अब, स्वास्थ्य मन्त्रालयसँग करिब ७ लाख डोज खोप बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार नेपाल सरकारले खरिद गरेको १० लाख डोज खोप नेपाल आउन बाँकी छ । त्यस्तै कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिने भनिएको १ करोड ३२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज मात्रै नेपाल भित्रिएको छ ।
दोस्रो डोज पहिलो खोप अभियानकालाई

वैशाख ७ गतेदेखि ११ गतेसम्म पहिलो खोप अभियानमा खोप लगाएकाहरूलाई दोस्रो डोज खोप लगाइने भएको छ ।
सरकारसँग रहेको करिब ७ लाख खोपमध्ये पहिलो चरणको खोप अभियानमा पहिलो डोज लगाएका ४ लाख २९ हजारलाई दोस्रो डोज लगाइने खोप शाखा प्रमुख डा. शर्माले बताए ।त्यसपछि सरकारसँग करिब ३ लाख डोज मात्रै बाँकी रहनेछ । 

बाँकीलाई दोस्रो डोज लगाउन समस्या त नहोला कि ? भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका एक अधिकारीले हाम्राकुरालाई भने, ‘हामीले सबै योजनाबद्ध तरिकाले काम गरिरहेका छौं, त्यो सबै व्यवस्था मिलाउँछौँ ।’

करिब तीन महिनापछि दोस्रो डोज लगाइने हुँदा दोस्रो चरणको खोप अभियानमा सहभागी भएकाहरूका लागि दोस्रो डोज समयमै उपलब्ध हुने मन्त्रालयको सङ्केत  गरेको छ ।

किन भयो खोप खरिद अवरुद्ध ?
भारतको सेरम इन्स्ट्यिुटबाट सरकारले २० लाख  खोप खरिद गरिसकेको छ । त्यसमध्ये १० लाख डोज मात्रै भित्रिएको छ ।सरकारले थप ५० लाख डोज खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको थियो । तर, उक्त प्रक्रिया अघि बढ्न सकेको छैन ।

नेपाल मात्रै हैन, भारतले बेलायतलाई निर्यात गर्ने भनेको खोप निर्यातमा समेत ढिलाइ हुने सेरम इन्स्ट्यिुटका प्रवक्ताले बताएका छन् ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्मकै धेरै पुगेको छ । यस कारण भारतले राष्ट्रिय खोप अभियानलाई सशक्त पारेको छ ।

राष्ट्रिय खोप अभियानका कारण बेलायतमा खोप निर्यात गर्न ढिलाइ हुने भएको सेरमका प्रवक्ताले बताएका छन् ।स्पष्ट रूपमा नभने पनि नेपाललाई खोप उपलब्ध गराउन ढिलाइ हुनुको पछाडि पनि भारतमै खोपको अभाव हुँदा पहिलो प्राथमिकतामा आफ्नै राष्ट्र हुनुपर्ने दबाब भारत सरकारलाई छ ।

यसबाहेक खोप उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको समेत कमी हुँदा खोप निर्यातमा समस्या भएको बताइएको छ ।
भारतीय सञ्चार माध्यममा जनाइए अनुसार बायोरिएक्टर ब्याग, सिंगल युज सिस्टम, सेल कल्चर मिडिया, फिल्टर, गामा स्ट्रिलाइजेसन, भाइललगायतका कुराहरुको पनि अभाव छ ।

'चाँडै नै खोप भित्र्याइन्छ'
स्वास्थ्य मन्त्रालयले बाँकी खोप पनि चाँडै नै भित्र्याइने बताएको छ । ‘अहिले उत्पादन नै कम भइरहेका कारण भारतबाट आउने खोप समयमै आउन नसकेको हो’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

‘ठ्याक्कै समय तोकेर भन्न नसके पनि चाँडो भन्दा चाँडो थप खोप भित्र्याउने तयारीमा हामी छौं’, उनले भने । अत्यधिक माग र कम उत्पादनका कारण नेपाल मात्रै नभएर विश्वभर खोप आपूर्तिमा समस्या भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ