काठमाडौं । केही दिन यता मनसुन सक्रिय भएसंगै देशका विभिन्न भेकमा वर्षा हुने र बाढी आउने क्रम जारी छ । विहिबार राति परेको वर्षाले पूर्वको उदयपुरमा बाढीले जनजीवन अस्तव्यस्त भएको छ । यस्तै जनकपुरमा डुबान भएको छ । उता कोशी नदीको पानीको बहाव खतरा सूचक माथि पुगेको छ । कोशीको चतरा क्षेत्रमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि बाढी नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाउन सुझाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले भने पूर्वमा भारी वर्षा नभएको बताएको छ । पश्चिमको सुर्खेतमा ५४ मिलिमिटर वर्षा हुँदा ताप्लेजुङमा १८ र विराटनगरमा समेत १८ मिलिमिटर बर्षा भएको बताइएको छ । शुक्रबार देशका अन्य भेकमा सामान्य वदली रहेपनि पश्चिमी भेकमा पूर्ण वदली रहेकाले केही स्थानमा भारी वर्षा हुने अनुमान रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
यस्तै काठमाडौं उपत्यकामा समेत क्षणिक वर्षा हुने अनुमान छ । कंडेलका अनुसार लगातारको वर्षा नभएपनि केही दिन वदलीको स्थिति रहनेछ । असार १ गते पूर्वी क्षेत्रबाट छिरेको मनसुन असार ५ पछि देशभर सक्रिय भएको थियो ।