arrow

भुकम्पले क्षती भएका घरले ५० हजार पाउने

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Bhukampa.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट आंशिक क्षति भएका घर मर्मतसम्भार एवम् प्रवलीकरण गर्नका लागि रु ५० हजार उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । 
 
प्राधिकरणको निर्देशक समितिले निजी आवास अनुदान कार्यविधिमा आवश्यक संशोधन गरी रु ५० हजार उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । भूकम्पबाट पूर्णरुपमा क्षति भएका वा भत्काएर पुनःबनाउनुपर्ने घरका लागि भने रु दुई लाख उपलब्ध गराउने व्यवस्था निजी आवास अनुदान कार्यविधिमा उल्लेख छ । 
 
यस्तै समितिले जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरी योजनाबद्ध एकीकृत नमुना बस्ती विकास गर्ने निर्णय गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शाखारहित बैंकिङ प्रणाली तथा घुम्ती बैंक सेवाको व्यवस्था मिलाइ अनुदान वितरण द्रुतगतिमा अघि बढाउने निर्णय पनि भएको छ । भूकम्पपीडित अनुदान पाउनयोग्य सबै घरधनी कोही पनि नछुटुन् र मापदण्डमा नपरेका नपरुन् भन्ने सिद्धान्तमा आधारित रहि आवास अनुदान उपलब्ध गराउने निर्णय पनि भएको छ । 
 
यस्तै समितिले चार महिनाभित्रमा कम्तीमा ३० हजार निर्माणकर्मीलाई गाउँतहमा तालिम उपलब्ध गराउने, प्रत्येक गाउँटोल तथा बस्तीमा पुनःनिर्माण सामुदायिक समिति गठन गर्ने, भूकम्प अति प्रभावित क्षेत्रका प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक वटा स्रोत केन्द्र स्थापना गरी पुनःनिर्माण कार्यमा स्थानीय जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्ययोजनासमेत पारित गरेको छ । 
 
रानीपोखरीको पुनःनिर्माण भाइटीकाअघि सक्ने, काठमाडौँ उपत्यकासहित भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण तत्काल सुरु गर्ने निर्णय पनि समितिले गरेको छ । 
 
जिविस, गाविस र नगरपालिका तहमा पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय राष्ट्रिय योजनाको खाकामा आधारित भई पुनःनिर्माणसम्बन्धी स्थानीय पञ्चवर्षीय योजनाको खाका तयार पारी कार्यान्वयनमा ल्याउनेसमेत निर्णय भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ