काठमाडौँ। बागमती सफाइमा आज एक अपरिचित युवाको शव फेला परेको छ । सफाइको १६३ औँ हप्तामा आज थापाथली कुपण्डोल आसपासको बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेला परेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए ।
नदीमा भेटिएको शव प्रहरीलाई बुझाइएको उनले बताए ।
सरसफाइमा सात मेट्रिक टन फोहर
यस क्षेत्रमा सफाइ गरी आज सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । “आज थापाथली पुल माथिको सुकुम्बासी बस्तीमा पसेर त्यहाँको वस्तुस्थिति पनि अवलोकन गर्यौँ, सुकुम्बासीका नाममा निजी कार र मोटरसाइकल राखेर बसेका हुकुम्बासीले बागमती किनार कब्जा गरेको यथार्थ सफाइका सहभागीले देख्ने अवसर पायौँ”–कार्यकारी निर्देशक सिंहले भने ।
करिब ६०० मिटरको बागमती किनारमा ४३० परिवारका दुई हजार मानिस बसोवास गरेको तथ्याङ्क समितिसँग छ । नदी कब्जा गर्ने उद्देश्यले अधिकांश मानिस बसेका छन् । गरीब, बेसहारा र केही नभएका पाँचदेखि सात परिवारमात्र रहेको उनले बताए ।
अतिक्रमणकारीलाई हटाउन ठूला राजनीतिक दलका शीर्षस्थ नेतालाई आजै भेटेर अनुरोध गरिएकामा उनहरुले दुई दिनको समय मागेको पनि समितिले जनाएको छ । सुकुम्बासीको अतिक्रमणका कारण थापाथली क्षेत्रमा मात्र ढल विच्छ्याउन र पर्खाल लगाउन नपाइएको निर्देशक सिंहको गुनासो छ ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायतका सङ्घ संस्थाको उपस्थिति थियो । विसं २०७० जेठ ४ गते शनिबारदेखि साप्ताहिक रुपमा बागमती सफाइ हुँदै आएको छ ।
आजै गुह्यश्वरीमाथिको भागमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज, रुद्रमती, विष्णुमती लगायत बागमतीका सहायक नदीमा पनि सफाइ गरिएको छ । रासस