arrow

आरुणीलाई धौम्य ऋषिले दिएको ज्ञान

logo
ज्ञान,
प्रकाशित २०७७ चैत १६ सोमबार
dhamya-rishi-aruni.png

काठमाडौँ ।  धौम्य ऋषिको आश्रममा आरुणी नामको एक शिष्यले  गुरु-सेवा गरे । एक दिन धौम्य ऋषिले उनलाई खेतमा पानी हेर्न पठाए। जब आरुणी खेतमा गए खेतको आली भत्केर पानी बाहिर बगिरहेको थियो । उनले माटो हालेर आली थुन्ने कति कोशिश गरे, तर पानीको धार तेज भएकोले माटो बगाएर लगिहाल्थ्यो । कति गर्दा पनि पानी थुन्न नसक्दा आरुणी आफै आलीमा तेर्सी परेर सुते। पानी त बन्द भयो, तर चिसो लागेर आरुणीको पूरा शरीर अड्कियो।

बेलुकी आश्रममा आरुणीलाई नदेखेर गुरु महाराजले अन्य शिष्यहरूलाई सोधे-आरुणी देखिँदैन, कहाँ गयो? शिष्यहरूले भने, महाराज! बिहान तपाईँले नै उसलाई खेतमा पठाउनु भएको थियो, अहिलेसम्म आएको छैन ।
 
धौम्य ऋषि अन्य शिष्यहरूलाई साथमा लिएर आरुणीलाई  खोज्दै खेतमा गए अनि आरुणी! आरुणी!! बोलाए।  आलीमा सुतेको आरुणीले सानो आवाजमा भन्यो, गुरु महाराजजी! म यहाँ छु । धौम्य ऋषिले उसलाई अन्य शिष्यहरूको सहायताले उठाएर आश्रममा ल्याए, आगोले सेकाई गरे। जब उनी केही स्वस्थ भए, तब उनले सोधे, गुरु महाराजजी! तपाईँको मुहार उदास किन देखिरहेको छु ? ऋषिले भने, पुत्र! उदास थिएँ, तर अब छुइन । यति भनेर उनले आरुणीलाई अङ्कमाल गरे अनि आशीर्वाद दिए, पुत्र! मेरो सारा वेद-विद्या तिमीमा आओस् । तिम्रो गुरु-भक्ति देखेर मेरो हृदय एकदमै गद्गद भइरहेको छ, गुरु-भक्तिमा तिम्रो नाम अटल रहने छ।

संसारमा जसले पनि महानता वा आत्म ज्ञान पायो, उसले गुरुको प्रताप र गुरु-सेवा द्वारा नै पाएको छ। बिना गुरु त हामी सांसारिक कामहरू पनि गर्न सक्तैनौ । अक्षरी विद्या अनि शिल्पकारीको सबै काम गुरुबाट सिक्नु पर्दछ ।

गुरु नानकदेव भन्छन् कि हे जीव! चौरासी लाख योनिहरूमा चक्कर काट्दा-काटदा अब बल्ल तिमीलाई यो मानव चोला मिलेको छ, अब प्रभुको नाम सम्हाल, भजन-भक्ति गर, नत्र फेरि त्यही चौरासी योनिमा जाने दिन टाढा छैन । साँप, बिच्छी, घोडा आदि योनिहरूमा जन्म लिएर अनेक प्रकारको दुःख-कष्ट भोग्नु पर्नेछ ।

गुप्त विद्या, आत्म-विद्या, गूढ रहस्य अथवा आत्म ज्ञान अनेक साधनहरू गर्नाले, अनेक परिश्रम गर्नाले मिल्दैन, त्यो त परम्परादेखि गुरुको शरणमा गएर मात्र शिष्यहरूलाई मिल्छ। त्यो साधन अथवा आत्म ज्ञान गुरु-सेवा र सत्सङ्ग द्वारा सहजमा मिल्छ । गुरु-पद नै सुख-शान्तिको भण्डार तथा मोक्षदायक  हो ।

दत्तात्रयेलाई भगवान्को अवतार मानिन्छ । उनले कुकुर, चील, चण्डाल आदिबाट शिक्षा लिएर गुरु भावले शिर झुकाए अनि यस प्रकार उनले चौबीस गुरु बनाए। तर आज त मानिसहरूको बुद्धि यति भ्रष्ट भएको छ कि मनुष्यलाई पनि गुरु मान्नु आफ्नो बेइज्जती र अपमान मान्दछन् । ढुङ्गा र  रुखहरूलाई त देवता सम्झन्छन्, पूजा गर्छन्, तर श्रद्धा-भाव छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ