arrow

अध्यक्षको बदनियतले नेविसंघको महाधिवेशनको माहोल विग्रिरहेको छः सरोज थापा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ असार ११ शनिबार
Saroj-Thapa.gif.jpeg
नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री तथा तत्कालीन शाही शासन कालमा त्रि–चन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनिसकेका विद्यार्थी नेता हुन् सरोज कुमार थापा। तत्कालीन समयमा राजसभामा उपस्थित हुन आउँदा आफ्नै नेतृत्वमा त्रिचन्द्र कलेज अगाडि राजाको सवारी केही बेर रोकेर आफ्नो निडरता प्रस्तुत गरिसकेका थापा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षको आकांक्षी बनेर चुनावी मैदानमा उत्रने तयारीमा छन्। थापा २०६३ सालमा राजाको शासनकालमा राजाको तस्विर गुणगान गाउने पाठ्यपुस्तक च्यातेको आरोपमा थापा त्यस तत्कालिन विद्यार्थी नेताहरु ठाकुर गैरे र प्रदिप पौडेलसँगै जेल बसेका थिए। राजनीतिक यात्रा वि.सं. २०४६-४७ सालदेखि नै सुरू गरेका उनी २०५६ सालमा चितवन महाधिवेशनको समयमा त्रिचन्द्र क्याम्पसका इकाई अध्यक्षको रूपमा समेत काम गरिसकेका छन्। थापा नेपाल विद्यार्थि संघमा एउटा पाको र खरो विद्यार्थी नेताको रूपमा आफूलाई चिनाउन सफल भएका छन्। धरान शिक्षा सदन स्कूलबाट पढाई सुरू गरेपनि राजनीति भने त्रिचन्द्रमा आएपछि इकाई सदस्यबाट सुरू गरेको बताउने थापा यो महाधिवेशनमा अध्यक्ष बाहेक पदमा उठ्ने कुनै विकल्प नै नरहेको र आफू जस्तो नेतृत्व नेविसंघले खोजी पनि रहेको दावी गर्छन। यसै सन्दर्भमा अयक्षका प्रत्यासी थापासँग अहिलेको विद्यार्थी राजनीति, त्यसमा नेविसंघको भूमिका, नेविसंघ महाधिवेशनको विषयमा भएका यावत टीका टिप्पणीहरू र अध्यक्षको आकांक्षा देखाईरहँदा उनले बोकेको भोलिको नेपाल विद्यार्थी संघको प्रारुपको विषयमा केन्द्रीत रहेर हाम्राकुराका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंशः
  
अध्यक्षकै आकाँक्षीहरूमा समेत कतिपयमा असन्तुष्टि देखिन्छ। नेविसंघ महाधिवेशनको मुखमा समेत देखिएको यस्तो विवादले कस्तो संकेत गर्छ? 
 
अहिलेको विवादको जरो के हो भने नेपाल विद्यार्थी संघको पटकपटक सर्दै आएको महाविेशनको मिति तय गर्न गत जेठको २५ गतेदेखि ३२ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले ठोस निर्णय गर्नु पर्थ्यो त्यसपछि मात्रै बाहिर सार्वजनिक गर्नुपर्ने थियो। यसमा केन्द्रीय कमिटी र त्यसलाई नेतृत्व गर्ने अध्यक्ष केही चुकेको हो कि भन्ने मलाई लागेको छ। सो बैठकमा एउटा माईनोटिङ कमिटी गठन गरियो। त्यसको बैठक नबस्दै अध्यक्षद्वारा विवाद समाधान समिति भनेर अर्को समिति गठन गरिएको र त्यसमा केन्द्रीय समितिमा रहेको साथीहरूले अब्जेक्सन गर्दा अहिलेको यस्तो अन्योलको अवस्था सिर्जना भएको हो। यसरी लामो समय विवाद भएको संघको महाधिवेशन गर्ने बेलामा सबै केन्द्रीय कमिटीका साथीहरूलाई बोलाएर छलफलबाट गर्नुपर्नेमा नेविसंघको छलफलको क्रममा आएका बुँदागत निर्णयहरूलाई नै इग्नोर गर्ने किसिमले अध्यक्षले माइनोटिङ कमिटी बनाएर त्यसको बैठक नै नबसी एकलौटी निर्णय गर्नुमा कताकता अध्यक्षको बदनियत देखिन्छ। हो यसैले महाधिवेशनको माहोल विगारिरहेको छ भन्ने मलाई लागेको छ। 
 
अध्यक्ष नै अहिले तोकिएको मितिमा निर्वाचन नगराउने पक्षमा छन् भन्न खोज्नु भएको हो ? 
 
हो, यसभन्दा अगाडि पनि महाधिवेशनको सबै तयारी भएर सबै साथीहरू काठमाडौं आईसकेको अवस्थामा पनि तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले नेविसंघमा बढी भाँडभैलो हुन्छ, जसले गर्दा सुरक्षाको समेत समस्या देखिन्छ भनेर महाविेशनको मिति सार्न लगाएको अवस्थामा अहिले पनि त्यहि स्थिती सिर्जना गर्ने गरी अध्यक्षको व्यवहार देखिनु तपाईले भनेजस्तै अहिले तोकिएको मितिमा निर्वाचन नगराउने पक्षमा अहिलेको रहेको हो कि भन्ने मलाई पनि लागेको छ। 
 
तपाईले नै अघि भनेका दुई कुराले अहिले तोकिएको महाधिवेशन पनि सर्ने वा पार्टीको हस्तक्षेप हुने हो कि भन्ने आशंका गर्ने प्रशस्तै ठाउँ देखिन्छ। के यस्तै अवस्था सिर्जना गरिन खोजिएको हो ? 
 
नेपाल विद्यार्थी संघको महाधिवेशन अब सारिनु हुँदैन । धेरै सरेर अहिलेको यो ठाउँमा आईपुगेको छ । नेविसंघले अब नयाँ नेतृत्व पाउनै पर्छ । अहिलेका पार्टी सभापति शेर बहादुर देउवा नयाँ सभापतिको रूपमा निर्वाचित भएपछिको पहिलो केन्द्रीय समितिको बैठकले पनि ६ महिना भित्र भातृ संस्थाहरूको निर्वाचन गर्न निर्देशन दिईसकेको छ। त्यसैले पनि यो निर्वाचन असोज भन्दा पर लैजान मिल्दैन । नेपाली काँग्रेसको सबैभन्दा सक्रिय र क्रियाशील भातृसंस्था नेविसंघ पछि तरूण दल र महिला संघको महाधिवेशन हुने हुँदा लामो समयदेखि नयाँ नेतृत्व आउन नसकेको नेविसंघले नयाँ नेतृत्व पाएको खण्डमा उक्त संस्थाहरूको महाविेशनमा पनि नेविसंघका साथीहरूको यथोचित भूमिका रहने भएकोले हामीले तिनीहरूको भन्दा अगाडि महाधिवेशन राखेका हौं । अब पनि सार्न लागियो भने पार्टीसभापतिज्यूले पहिलेजस्तो निर्वाचन सार्ने र निर्वाचन हुन नदिने व्यवहार दोहोर्याउनुहुन्न भन्ने हाम्रो आशा हो । 
 
तपाईले गरेका कुरा सुन्दै जाँदा कि त असन्तुष्टलाई पेलेरै गएको खण्डमा मात्रै होईन भने त मिलाएर लैजान पनि अलि कठिन नै हो कि जस्तो पनि लाग्यो, अब के हुन्छ त नेविसंघ भित्रको विवाद ? 
 
पहिले पनि नेविसंघको विवाद मिलाउनको लागि निर्देशक समिति गठन गरिएको थियो । उक्त समितिले विवादका बावजूत त्यसले केही कामहरू गरेको थियो । अहिले पनि पार्टी सभापति शेर बहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रकाशशरण महतलाई त्यो जिम्मेवारी दिनुभएको छ । र उहाँले यथाशीघ्र पार्टीबाट नै अन्य सदस्यहरू समेत रहनेगरी कमिटी घोषणा गर्ने तयारी गर्नुभएको छ । मलाई त के लाग्छ भने अहिले अध्यक्ष लगायत केही स्टेकहोल्टरको टिम छ । असन्तुष्ट सहितको ती सबैको सहमतिमा पार्टीको पहलमा यदि सबैलाई सँगै राखेर सबैको स्वामित्व र सहभागिता हुने किसिमको निकास निकाल्न सक्यो भने यो महाधिवेशन हुनसक्ने सम्भावना अझै पनि म देख्दछु। 
 
अब समिति गठन गरेर अधिवेशन नभएका ११ जिल्ला, असन्तुष्टले विवादित भनेको जिल्लाहरु सबैमा अधिवेशन गराएर महाधिवेशन गर्न समय पुग्छ त ? 
 
सम्भव छ। यदि अध्यक्षले सफा नियतले नेविसंघको निर्वाचन गराउन चाहने हो भने हामीसँग अझैपनि समय छ । हाम्रो भनाई नै यही हो, नेविसंको जेठ २५ गते केन्द्रीय समिति बैठक सुरू हुनु भन्दा अगाडि हामीले पार्टी सभापतिलाई यस विषयमा कुरा राखेका थियौं । तर अध्यक्षले त्यसैबेला पनि असारको अन्तिममा अधिवेशन राख्नेगरी सबै केन्द्रीय सदस्यलाई परिपत्र गर्नुभएको थियो । तर हामीले सो मितिमा सम्भव छैन भनेर साउनको अन्तिम या त भदौको पहिलो साता गर्ने भन्ने माग राखेका थियौं । त्यही मितिमा महाधिवेशन हुने तय भएको छ । अब कुरा के हो भने महाधिवेशन गर्नको लागि सबैभन्दा पहिले विवादित भनिएका ११ जिल्लामा विनाशर्त अधिवेशनको मिति तय गर्नुपर्‍यो । र नेविसंघको नियमावलीमा जुन प्रतिनिकिो व्यवस्था गरिएको छ। त्यो भन्दा बाहिर रहने अर्थात् हामीले नक्कली प्रतिनिधि भनिन्छ। उनीहरूको बारेमा नेविसंघका साथीहरूले पार्टीले बनाएको निर्देशक समितिको मातहतमा रहेर त्यसलाई समाधान गर्ने हो भने अझैपनि महाधिवेशनको सम्भावना देखिन्छ। 
 
तपाईँ यो महाधिवेशनमा कुन् पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?     
 
स्वभावतः विभिन्न पदहरू हुँदै म १० औं महाधिवेशनमा महामन्त्रीको समेत प्रत्यासी भईसकेकोले पनि मेरो लागि नेविसंघमा अब अध्यक्षको बाहेक अरू विकल्प नै छैन । 
 
धेरै अध्यक्षका आकांक्षी छन् उनीहरू सबैजना भन्दा भिन्न तपाईँलाई के मा फरक मान्ने र तपाइलाई किन साथीहरुले समर्थन गर्ने ? 
 
मेरा अरूको भन्दा संख्यामा थोरै तर धेरै महत्वपूर्ण भिन्न एजेण्डाहरू रहेका छन् । अरूले यो बीचमा राजनीतिक एजेण्डालाई आफ्नो मुख्य एजेण्डा बनाईरहेको बेलामा मैले भने राजनीतिक एजेण्डाको आडमा बसेर शैक्षिक एजेण्डामा केन्द्रीत हुने एजेण्डा बोकेर हिँडेको छु । म ल पढेको विद्यार्थी हुँ। मैले अबको नेविसंघलाई संघीय ढाँचामा लैजान कस्ता व्यवस्थाहरू आवश्यक छन् यो विषयमा पनि मैले सोची बुझी धेरै योजना बनाएर अघि बढेको छु। हामीले यसभन्दा अगाडि धेरै राजनीतिक लडाईँहरू लड्यौं । तर हामीले शैक्षिक एजेण्डामा हामी अझै पनि केन्द्रीत हुन सकिरहेका छैनौं । तर मैले नेविसंघको नेतृत्व लिएको खण्डमा भने  शैक्षिक एजेण्डालाई नै केन्द्रीत गर्नेछु। 
 
यदि तपाईले नेपाल विद्यार्थी संघको नेतृत्व पाउनुभयो भने कस्ता कामहरू गर्ने योजना अगाडि सार्नुभएको छ?
 
हामी नेविसंघ भनेको निस्वार्थ सेवा गर्ने नेपाली काँग्रेसको भातृ संस्था हो । कर्मचारी संगठन् होस् या मजदूर संगठन यी सबै संगठनहरू आफ्नो व्यवसायीक स्वार्थ लागि खुलेका संस्थाहरू हन् । तर हामी भनेको निस्वार्थ सेवा गर्ने संस्था भएकोले हामीले सामाजिक उत्तरदायित्वलाई विशेष रूपमा आफ्नो एजेण्डाको रूपमा बोक्नै पर्छ । सामाजिक उत्तरदायित्व भन्दैमा तेलको भाउ बढ्ने वित्तिकै सडकमा उत्रियो, त्रिविका केही शैक्षिक गतिविधि बाहेक अन्यत्र सबै राजनीतिक बहकावमा फसेर बसेका छो. । त्यसैले यसलाई अन्त्य गरेर हामी अब शैक्षिक एजेण्डा तर्फ केन्द्रीत हुनुपर्छ। त्यसैगरी भर्खरै पारित भएको शिक्षा ऐनको कुरा, अबको प्रान्तीय नेविसंघ कस्तो हुने भन्ने सवालका कुरा, सेमेस्टरलाई हरेक क्याम्पसमा पुर्‍याउने लगायतका कुराहरूमा सुधार गर्नको लागि मैले आफ्नो एजेण्डा केन्द्रीत गरेको छु । तर मैले यसरी भनेका एजेण्डाहरू मात्रै सरसर्ती सुनाउनको लागि होईन कि मैले दैनिक क्यालेण्डर सहितको कार्ययोजना बनाएको छु । साथैं अहिलेको ग्रेडिङ सिस्टमको कुरा पनि त्यस्तै छ। अब १२ कक्षासम्म पुर्‍याउने कुरा छ। यी सबैलाई समग्रमा भन्दा मैले अब शैक्षिक एजेण्डा बोकेर हिँड्ने तयारी गरिरहेको छु। त्यसैले साथीहरूले पनि मेरै माग गरिरहेका छन् । त्यसैगरी नेविसंघको सुधारको लागि यो एक दशक कुरेर महाधिवेशन गर्ने परिपाटीले नेविसंघको भलाई त पक्कै गर्दैन । त्यसैले यसलाई समयसमयमा होईन तोकिएकै समयमा महाधिवेशन गराउने मुख्य एजेण्डा बोकेर हिँडेको छु। म त के भन्छु भने नेविसंघलाई स्वायत्त संस्था बनाईनु पर्छ । हामीहरू आफेंले मिति तोक्ने सबै काम सक्ने अनि पार्टीलाई हामीले यस्तो गर्‍यौं भनेर जानकारी दिने । यदि तोकिएको मितिमा महाधिवेशन भएन भने, इलेक्सन फेयर भएन भने यस्ता विषयमा मात्रै पार्टीले निर्देशन दिने चलन ल्याउनु पर्छ भन्ने पक्षमा छु म त । यसो हुन्छ भने अलिकति संस्था पनि त्यही ढङ्गले अघि बढ्न सक्छ भन्ने मलाई लागि रहेको छ। 
 
अन्त्यमा, तपाईले आफूलाई अध्यक्षमा बिद्यार्थीले चयन गर्ने आधारहरू के–के देख्नुहुन्छ ? 
 
मैले सबैभन्दा पहिलो कुरा त नेविसंघप्रतिको आस्था, नेविसंघमा मैले इकाइ अध्यक्ष र स्ववियू सभापति हुँदासम्मको बखतमा गरेका साहसिक कामको कारण पनि मलाई धेरै साथीहरूले यस्तो नेतृत्व नेविसंघमा चाहिन्छ भनेर भन्दै आउनु भएको छ। मैले राजाको सवारी रोक्नेदेखि २०६२ सालमा विद्रोहको मसाल बालेर सडकमा उत्रने बेलासम्म गरेको आँटको कारणले पनि साथीहरू मलाई नेतृत्वमा आउन सुझाव दिईरहेका छन् । त्यसपछि मेरा एजेण्डा, मैले राजनीति भन्दा पनि शिक्षाका कुरा र विद्यार्थी हक हितको विषयमा बढी एजेण्डा प्रस्तुत गरेकोले पनि मैले यो निर्वाचनमा आफ्नो जीतको आधार यिनै विषयलाई मानेको छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ