arrow

महर्षि कश्यपका छोरा महोत्कट

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ वैशाख २ बिहिबार
mahotkat-vinayak.jpg

एक पटक हाहा, हुहु तथा तुम्बुरु गन्धर्वहरूले पीताम्बर वस्त्र धारण गरेर वीणा बजाउँदै, हरि गुण गाउँदै कैलाशको यात्रा गर्न लागेका थिए । उनीहरू महर्षि कश्यपको आश्रममा पुगे । उनीहरू जहिले पनि सङ्गीतमा रमाई रहने थिए । उनीहरूलाई मुनिले देखे र स्वागत सत्कार गरे र उनीहरूलाई खाना खान पनि अनुरोध गरे ।

खाना खानु अघि उनीहरू स्नान गर्न लागे । स्नान गरिसकेपछि उनीहरूले पाञ्चायनको पूजा (शिव, पार्वती, सूर्य, गणेश तथा विष्णु) गरे । पूजा सकेपछि उनीहरू ध्यान गर्न लागे । यत्तिकैमा बाहिर खेल्न गएको महोत्कट उनीहरूले पूजा गरेको स्थानमा आइपुग्यो । उनले पूजा गरिएका मूर्तिहरू देखे र टपाटप टिपेर बाहिर फालिदिए । मूर्तिहरू बाहिर फालेको देखेर उनीहरूले कश्यप ऋषिलाई यो कुरा लगाइदिए ।

कश्यपले अचम्म माने । उनी अतिथिहरूले ल्याएको मूर्तिहरू जताततै खोज्न थाले । ऋषिले मूर्तिहरू कतै पाएनन्, नपाएपछि शङ्का लागेर महोत्कटलाई ती मूर्तिहरूका बारेमा सोधे । उनले म त साथीसँग खेल्दै थिए, मलाई थाहा छैन भनेर जवाफ दिए । उनको जवाफले कश्यप ऋषि चुप लागेनन् । उनी उसलाई झन् गाली गर्न थाले । उनको गालीले महोत्कट जमिनमा लडे । यत्तिकैमा उनको आमा अदिति आई पुगिन् ।

अदितिले पनि सोधखोज गर्दा उनले मैले मुखमा मूर्ति हालेको छैन, नपत्याए हेर्नुस् भनेर आफ्नो मुख खोलेर देखाइदिए ।  कश्यप ऋषि तथा तीनै गन्धर्वहरूले पनि उनको मुख भित्र हेरे । उनको मुख भित्र त सबैले कैलाश देखि स्वर्ग, मर्त्य, पाताल तथा ब्रह्माण्डको दर्शन पाए । त्यहाँ उपस्थित सबै हरिभक्त नै थिए । हरिभक्तमा रमाएकालाई यो कुनै नौलो कुरा हुने नै भएन । कश्यपले विचार गर्न लागे, ओहो, संसारको ऋष्टिकर्ता नै मेरो पुत्र रूपमा आउनु भएको रहेछ भनेर अचम्म माने । माता अदितिले आफ्नो स्तन पान गराउन लागिन् ।

कश्यपले यी सब कुरा बुझेपछि ती गन्धर्वहरूलाई भने, अव म पुत्रलाई सजाएँ दिन सक्तिन, तपाईँहरू जे गर्नुपर्छ गर्नुस् भनेर पन्छे । तर उनीहरूले आफूहरूको मूर्ति नपाएसम्म अन्न, जल केही पनि ग्रहण नगर्ने अठोट दोहराए ।  यति भनिसकेका मात्र के थिए उनीहरूले पञ्चदेवलाई नै गणेशको मुहारमा प्रत्यक्ष दर्शन पाए । उनीहरूले गणेशको स्तुति गरे ।

अन्न नखाने प्रतिज्ञा तोडेर उनीहरूले कश्यप ऋषिले अर्पण गरेको अन्न पानी ग्रहण गरे । महोत्कट पनि कहिले सूर्य, कहिले विष्णु आदि रूपमा दर्शन दिन थाले ।  यस प्रकारको दर्शनले उनीहरूले आफ्नो जीवन धन्य भएको सम्झे र कैलाश पर्वत तिर उनीहरूले आफ्नो यात्रा अगाडि बढाए ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ