arrow

आशुतोष शिव

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ फागुन १८ बिहिबार
shiva-shakti11.jpg

गौरीघाट ।  हिन्दु धर्मशास्त्रहरूमा ब्रह्माजीलाई सृष्टिकर्ता, विष्णुलाई स्थितिकर्ता र शिवजीलाई सम्हार कर्ताको रूपमा चर्चा गरिएको छ । चाहे त्यो भौतिक विषय नै होस् चाहे आध्यात्मिक श्रृष्टि हुन्, शुरु,मध्यम र अन्त स्वाभाविकै हो ।

शिवजीको पार्वतीका साथ विवाह भएको पर्वको रूपमा यस पर्वलाई उत्साहका साथ मनाइने गरिन्छ । शिवजीलाई पूजा आराधना गर्दा कतै हामी मुहार सहितको मूर्तिमा तथा कतै लिङ्गको पूजा गरे पनि मनाइन्छ । त्यस पर्वका दिन नेपाल अधिराज्यभरका शिव मन्दिर तथा काठमाडौं उपत्यकामा रहेका विभिन्न मन्दिरहरूमा तद् तद् मन्दिरमा प्रतिष्ठित मूर्तिमा, शिवलिंगमा पूजा गरिन्छ, जागराम बसिन्छ र अनुकूल अनुसार धुनी पनि जगाइन्छ ।

आराध्यदेव पशुपतिनाथको मन्दिरमा पनि त्यस दिन भक्तहरूको भीड लाग्दछ । शिवरात्री पर्व मनाउन देश विदेशबाट भक्तजनहरू आएर अति नै श्रद्धाका साथ पूजा आराधना गर्दछन् । त्यस दिन चाहे बौद्ध धर्मावलम्बी हुन्, चाहे वैष्णव हुन् चाहे शैव सम्प्रदायका हुन् शिवजीको पूजा आराधना गर्नमा उत्साहित नै हुन्छन् । ईश्वरसंहितामा कतै उल्लेख गरिएको छ  शैवो वा वैष्णवो वापि यो वा स्यादन्यपूजकः । सर्वं पूजाफलं हन्ति शिवरात्री बहिर्मुखः ।। भनिएकै छ ।
 
यद्यपि शिवजीलाई अनेक नामले पुकारिन्छ, तैपनि उहाँलाई आशुतोष भनिन्छ । उहाँ आफ्नो आराधना गर्ने भक्तहरूलाई चाडैंनै उनीहरूले इच्छा गरेको वर दिन तत्पर हुनुहुन्छ । देव दानव मिलेर समुद्र मन्थन गर्दा हलाहल विष निस्केको र त्यो विष कसैले पनि ग्रहण गर्न नचाहेको हुनाले उहाँले आफूले नै त्यो विष पिएर संसारलाई विषबाट हुने प्रभावबाट मुक्त पार्नुभएकै हो ।

उहाँको हृदयमा नारायण भगवान्को वास भएकोले उहाँले त्यो विष पूरा ननिलेर घाँटीमा नै अड्याइ राखेको हुनाले त्यो विषको दाग उहाँको घाँटीमा पर्न गएकोले उहाँलाई नीलकण्ठ भनिएको हो । साधकहरू भष्म लेपन गर्दा निधारमा त्रिपुण्डक धारण गर्दछन् । त्रिपुण्डकलाई श्रद्धा, भक्ति र विरक्तिको प्रतीक मानिन्छ ।

उहाँको भष्म लेपनको महत्त्वका बारेमा अगस्त्य मुनिको छोटो चर्चा गरिन्छ । एक पटक अगस्त्य मुनि आफ्ना मान्यजन, बन्धु बान्धवहरू पनि कुम्भिपाक नरकमा परेका छन् कि भनेर हेर्न जान्नुभएको थियो । त्यो नरकमा परेकाहरू चित्कार गरिरहेका थिए । मुनिले जसरी निम्रेर हेर्नुभएको थियो, उहाँको शरीरबाट भष्म खसेर नरक भित्र पर्‍यो । ती सबै नरकको पीडाबाट मुक्त भए ।

त्यसै गरी उहाँको जटामा अर्ध चन्द्र विराजमान हुनुहुन्छ । श्री शिवपुरीबाबु शिवरात्रीको दिनमा श्री शिव कुनै न कुनै रूपमा पशुपति मन्दिरमा पदार्पण गर्नु हुन्छ, त्यसैले त्यस दिन मन्दिर मात्रको दर्शन पनि फलदायी नै हुन्छ भनेर आज्ञा हुन्थ्यो । त्यसैले सम्भव भएसम्म त्यस दिन पशुपतिमा दर्शन गर्न जानाले धर्म, अर्थ, काम, मोक्ष तथा श्रद्धा, भक्ति तथा विरक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ