arrow

नवलपरासी पश्चिममा ठुलो सङ्ख्यामा मृत गिद्ध फेला , स्थानीय त्रसित 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Vulture-giddha-parasi.jpg

नवलपरासी।  रामग्राम नगरपालिका ४ जितपुरको पाल्हि बहुमुखी क्याम्पसको पछाडि खाली चौरमा सयभन्दा बढिको सङ्ख्यामा मृत गिद्ध फेला पर्नु चिन्ताको विषय भएको सरोकारवालाहरूले बताएका छन् । के कति कारणले गिद्धहरू मरे भन्ने यकिन हुन सकेको छैन। 

ठुलो सङ्ख्यामा मृत गिद्ध फेला परेपछि वरिपरिका स्थानीय त्रसित भएका छन् ।  घटना प्रकृति हेर्दा सिनोमा विषादी मिसाएर फालेको अवस्थामा गिद्धले उक्त सिनो खाँदा अकालमा ज्यान गुमाउन पुगेका हुन सक्ने स्थानीय सञ्चारकर्मी सुरेश यादवले बताए ।

गिद्ध शिकारी चरा समूह अन्तर्गत पर्ने ठुलो मांसाहारी पंंक्षी  हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो मात्र खाने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । गिद्धहरूमा विभिन्न हानिकारक कीटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउने क्षमता राख्दछन् ।

गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै कुहिन्छ फलस्वरूप मानिसमा रेबिज, प्लेग , हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको सङ्क्रमणले महामारीको रूप लिन सक्ने पृथ्वीचन्द्र अस्पताल परासीका प्रमुख डाक्टर नुर होदाले बताए । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्त्व पनि छ ।

हिन्दु धर्ममा गिद्धलाई शनि देवताको बाहानको रूपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ