arrow

सुस्ता जोगाउने "जङ्गे पिलर" जीवन मरणको दोसाँधमा, सरकारलाई छैन वास्ता

logo
नारायण वली,
प्रकाशित २०७९ माघ ७ शनिबार
hospital-butwal.jpg

रुपन्देही । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा एउटा नारायणी नदी छ । (जसलाई त्रिवेणी नदी भनेर चिनिन्छ) । सुस्ता गाउँपालिका वडा-५ रामनगरबाट त्यही नदी किनारपारी पूर्वतिर एउटा सानो गाउँ देखिन्छ ।  वरिपरि जङ्गल र नदीको बीचमा पर्ने सानो भू-भाग हो नेपाली भूमि सुस्ता । जहाँ जानलाई डुङ्गाको प्रयोग गर्नुपर्ने बाहेक विकल्प छैन । 

सोही नेपाली भू-भागलाई आफ्नो कब्जामा लिन भारतीय पक्ष एसएसबीले सुस्ताबासी माथि निरंकुशताको धावा बोल्दै बलजफती दमन गर्न अग्रसर भयो। तर नेपालीभूमीलाई बचाउन स्थानीय गोपाल गुरुङ हतियारधारी एसएसबीसँग लड्न अगाडि सरे । अहोरात्र खटेर भारतीय एसएसबीको ज्यादतीलाई चिर्न घरेलु हतियार लिएर तैनाथ भए । अन्ततः सुस्ता जोगाए, जहाँ अहिले पनि नेपाली बस्ती कायमै छ ।

भारतीय एसएसबीको गिद्धे नजरमा परेको नेपाली भूमि सुस्ता विगतदेखि नै अतिक्रमणको चपेटामा छ । उक्त भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गरेका ६२ वर्षीय गुरुङ हाल मस्तिष्कघातका कारण अस्पतालको शैयामा मृत्युसँग लडिरहेका छन् । करिब एक महिनायता अस्पतालमा छन् । सुस्ता गाउँपालिका–५ का गुरुङको अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । तर, आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारजनले सहयोगको याचना गरेका छन् ।

गुरुङ, सुस्ता बचाऔँ अभियानका संयोजक समेत हुन् । सुस्ता जोगाउन ज्यानलाई बाजी मारेका गोपाल आर्थिक अभावमा जीवन र मरणको दोसाँधमा छन् । गुरुङकी छोरी पसन्द गुरुङ भन्छिन्: 'बुबालाई २८ दिनदेखि अस्पतालमा भर्ना गरेर उपचार गराउंँदा भएको रकम सकियो, अव कहाँबाट ल्याएर उपचार गरौँ, बुबाले सरकारले नसकेको नेपाली भूमि सुस्ता जोगाउन लाग्नुभयो, बचाउनुभयो तर अहिले न सङ्घीय सरकारले ज्यान जोगाउन ध्यान दिएको छ, न स्थानीय  सरकारले सहयोग गरेको छ । अब कसरी औषधि गर्ने होला हामी चिन्तामा छौँ ।'

उनले थपिन, 'बुबाले अतिक्रमणको चपेटामा रहेको भूमि जोगाउन भारतीय पक्षसंग लड्नुभयो, भारतीय प्रहरीले १ वर्ष थुन्यो पनि । तरपनि भूमि बचाउन  कठोर त्याग गरेर स्वाभिमान बचाउन लाग्नुभयो त्यही व्यक्ति आज बिरामीले ढल्दा सरकारले कुनै वास्ता गरेको छैन । यो देश गरिब भन्दा हुनेखाने र पहुँचवालालाई रहेछ' । छोरी पसन्दका अनुसार आफूहरूसँग भएको ६ लाख खर्च भएको र बाँकी व्यक्तिहरुले दिएको सहयोगबाट भइरहेको बताइन् । उनि सरकारको सहयोगको अपेक्षामा छिन् ।

युनिभर्सल मेडिकल कलेज भैरहवाका अनुसार गुरुङलाई मस्तिष्क पक्षघातसँगै निमोनिया,मिर्गौला र कलेजोमा समेत समस्या देखिएकाले स्वास्थ्य अवस्था जटिल छ ।

'भारतको अतिक्रमणविरुद्ध शसक्त भएर आमजनतालाई जागरूक बनाएको भन्दै भारतीय सुरक्षाकर्मीले झुटा मुद्दा समेत लगाएर जेल पठायो, गुरुङ नभएको भए सुस्ताको भूमि भारतले कब्जा गरिसक्थ्यो।' तर विडम्बना, देशको भूमि जोगाउन लडेका अभियान्ता आज आर्थिक अभावमा उपचार पाउन नसकेकोमा स्थानीय आदम खाँनले दुखभाव जनाए । उनी भन्छन्, गुरुङ सुस्ताको एउटा गौरव हुन्, "जंगे पिलर" पनि ।  

०६२ सालबाट एसएसबीको उक्साहटमा भारतीय नागरिक पठाएर अतिक्रमणलाई बढवा दिएपछि गुरुङले सोही वर्षदेखि सुस्ता बचाउ अभियान सञ्चालन गर्दै सरकारलाई अतिक्रमण रोक्न र कब्जा गरिएको जग्गा फिर्ता ल्याउन ज्ञापनपत्र बुझाउँदै आएका थिए ।

नेपाल प्रहरीको जागिरे हुँदा सुस्तामा खटिएका बेला भारतीय अतिक्रमणको अन्याय देखेका गुरुङ प्रहरी सेवाबाट अवकाश भएपछि सुस्तामै बसेर अतिक्रमण विरुद्ध चर्को आवाज उठाएको स्थानीय वयोवृद्धहरू बताउँछन् ।

सुस्ताको कुल ४० हजार ९ सय ८० हेक्टर जमिन मध्ये १४ हजार ५ सय हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । १९ हजार ४ सय ८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ । जसका कारण नेपाली भूमि लालपुर्जा भएर पनि भोगचलन गर्न नपाइएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालको भनाई छ । उनका अनुसार हाल सुस्तावासीले ७ हजार हेक्टर जमिन मात्रै भोगचलन गर्दै आएको बताए । अभियन्ता गुरुङको छोरा वैदेशिक रोजगारीका लागि दुबईमा छन् । एउटी छोरी कक्षा ११ मा अध्ययनरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ