arrow

विप्लव माओवादीको दादागिरी, कार्यकर्ताले इन्जिनियरलाई मोसो दले

घटनाको सर्वत्र निन्दा

logo
प्रकाशित २०७३ असार १३ सोमबार
kalikot-LDO-office.jpg.jpeg
कालिकोट । विप्लव नेतृत्वको माओवादी कार्यकर्ताले जिल्ला विकास समितिको कार्यालय कालिकोट  अन्तर्गत कर्णाली रोजगार कार्यक्रमका इन्जिनियर जनक रोकायालाई हातपात गरेका छन् । सोमबार विहान १० बजे कार्यालयतर्फ गइरहेको समयमा जिल्ला विकास समितिको गेष्ट हाउस अगाडी सात आठ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले आक्रमण गरी मोसो समेत दलेका हुन् ।
 
इन्जिनियर रोकायालाई आक्रमण गर्ने माओवादी कालिकोटका इन्चार्ज कर्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । इन्जिनियरमाथिको आक्रमणको विरोधमा दिनभर जिल्ला विकास समिति कालिकोटमा सम्पूर्ण कामकाज ठप्प भएपछि आर्थिक वर्षको अन्त्यतिर सेवाग्राहीले सास्ती भोग्नु परेको छ । 
 
आयोजनाको स्टेमेट, मूल्याङ्कन तथा कार्यसम्पादन नियम विपरित गरेको, उपभोक्ता समितिबाट कमिसन लिएको तथा निर्माण सामाग्री खरिदमा घोटाला गरेकोलगायतका विभिन्न सात आरोप लगाउँदै जनकारबाही गर्नु परेको पर्चा माओवादीले छरेको छ । 
 
पटक–पटक सुधारिन सुझाव दिँदा पनि नसुधारिएकोले कारबाही गर्नु परेको माओवादीले छरेको पर्चामा उल्लेख  छ ।  पर्चामा ‘जनकार्वाही’ गरेको जिकिर गरेका माओवादी कार्यकर्ताले इन्जिनियरलाई लुकेर आक्रमण गरका इन्जिनियर रोकायाले बताए । ‘कार्यालय जान लागेको थिएँ, पछाडिबाट आएका दुई जनाले मेरा दुबै हात समातेर हल्लिन पनि नसक्ने अवस्थामा पुर्‍याए एक जनाले झोल मोसो दलेर भागे,’ रोकायाले भने, ‘के कारणले हो त्यो पर्चा पढेपछि मात्र थाह पाएँ ।’ लामो समयदेखि चन्दा मागेर हैरान पारेका माओवादी कार्यकर्ताले मागे जति चन्दा दिन नसक्ने बताए पछि आक्रमणमा उत्रिएको रोकायाले बताए । 
 
माओवादीले मागेको रकममा चन्दा दिन नसकेपछि भ्रष्टाचार गरेको आरोप माओवादीले लगाएको रोकायाले बताए । ‘लामो समयदेखि २–३ लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै धम्काउने गरी रहेका थिए’ उनले भने, ‘ठुलो रकम दिन नसक्ने भने पछि उनीहरुले कहिले फोनमा, भेटमा र अरु माफृत पनि धम्की दिने गरिरहेका थिए, आज आक्रमण गरे ।’ 
 
रोकायालाई माओवादी आक्रमण पछि आर्थिक वर्षको अन्त्यमा जिविसका कर्मचारीहरु फिल्ड जान डराएका छन् । कर्णाली रोजगार अन्तर्गत जिल्लाका ३० गाउँ विकास समितिमा ३७ योजना सञ्चालनमा छन् । बजेट दुरुपयोग रोक्न जिल्ला विकास समितिले काम सकिएपछि कामको मुल्याङ्कनको आधारमा रोजगार पत्र प्राप्त कामदारलाई रकम वितरण गर्ने योजना बनाएको थियो । चालु आर्थिक वर्षमा ८ करोड २५ लाख बजेट रहेको छ । 
 
सोमबार जिल्ला विकास समिति अन्तर्गत कर्णाली रोजगारका इन्जिनियर माथि भएको आक्रमण पछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सवै कार्यालयहरुमा सुरक्षामा ध्यान दिने निर्णय गरेको छ । 
 
घटनामा संलग्नलाई पक्राउ गरी कानून बमोजिम कार्वाही गरिने र नागरिकलाई सुरक्षाको महसुस गराउने प्रजिअ खड्काले बताए । सोमबार नै विभिन्न कर्मचारी संघ संगठनहरुले बैठक बसी घटनाको निन्दा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ