arrow

दीपकुमारले ओली भ्रमणको प्रशंसा गरे

नेपाल र भारत दुवै देशका राष्ट्रपतिको भ्रमण तयारी भइरहेको छ : भट्टराई

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
dip-kumar-upadhyaya-FNL-news.jpg.jpeg
काठमाडौं । भारतकालागि निवर्तमान नेपाली राजदूत दीपकुमार उपाध्यायले  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन् । 
 
रिपोर्टर्स क्लबको साक्षात्कारमा उपाध्यायले भने,‘ भारतले नेपाललाई प्राथमिकता दिएको छ । एकै वर्ष दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण भइसकेको छ । प्रशासनिक संयन्त्रहरुको बैठक पनि नियमित भइरहेको छ । दुई देशको प्रवुद्ध समूहको बैठक समेत बस्दैछ । अब हामीले नकारात्मक टिप्पणी गर्नु हुँदैन । नन इश्यूलाई इश्यू बनाएर अल्झनु हुँदैन ।’
 
उपाध्यायले नेपाल र भारतले छिमेकी बदल्न नसक्ने भएकोले सम्बन्ध राम्रो बनाएर अघि बढ्नुको विकल्प नभएको तर्क गर्दै अब शान्तिपूर्ण रुपमा नेपालले दुई छिमेकीहरुको विश्वास लिएर अघि बढ्नु पर्ने आवश्यकता औँल्याए । उनले भने,‘ सन्तुतिल रुपमा दुई छिमेकीसँगको सम्बन्धलाई अघि बढाए नेपाललाई फाइदा छ । नेपाल–भारतबीचको सम्बन्ध सुध्रिदै छ, अब नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नु पर्छ ।’
 
उपाध्यायले चीनले समेत नेपालको आर्थिक विकास र आपूर्तिकालागि भारतमै भरपर्नु पर्ने भएकोले दुई देशको सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिँदै आएको उल्लेख गर्दै नेपाल भारत सम्बन्धमा एक अर्कासँग गर्व गर्न सक्नु पर्ने भएकाले यसमा शंका गर्नु आफैमा शंका गर्नु जस्तो हुने तर्क गरे । 
उनले रितिरिवाज, सस्कृति, धर्म, सामाजिक सम्बन्धले दुई मुलुक बाधिएकाले अलग हुनै नसक्ने भन्दै अब नेपालले आफ्नो आन्तरिक राजनीति मिलाएर अघि बढ्नु पर्ने आवश्यकता अाैँल्याए । उपाध्यायले संविधान जारी गर्ने बेलामै आफूले सबैलाई समेटेर जाउ भन्दा नभए पनि अहिले पनि करेक्सन गरेर सच्याउने ठाँउ रहेकाले आफ्नो आन्तरिक राजनीति मिलाउनतर्फ लाग्नु पर्ने भन्दै यस विषयमा अरुलाई दोष दिएर उन्मुक्ति पाउन सक्ने अवस्था नरहेको सुनाए । 
 
उनले भने,‘ संविधानको कार्यान्वयनमा अहिले चुनौती छ । यो संसदको अवधिभित्रै अर्को चुनाव गर्न नसके मुलुक भयंकर रिक्ततामा फस्छ, मुलुक अप्ठ्यारो स्थितिमा पुग्छ । हामी संकट उन्मुख छौं । त्यसैले कमजोरी सच्याउनु पर्छ ।’ नेपाल–भारत प्रवुद्ध समूहमा नेपाली टोलीका सदस्य राजन भट्टराईले दुई मुलुकको सम्बन्ध क्रमैसँग सुध्रदै गएको भन्दै यसको पछिल्लो कडिको रुपमा नेपाल र भारतका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भइसकेको जानकारी दिए । 
 
उनले पछिल्लो समयमा दुई पक्षीय प्रशासनिक संयन्त्रहरुको बैठक नियमित जसो भइरहेको लगायतका कारणले हिजो सम्बन्धमा उत्पन्न दरारहरु कमैसँग कम हुँदै गएको जिकिर गर्दै नेपाल भारत सम्बन्ध राम्रो हुनुको विकल्प नभएको बताए । भट्टराईले भने,‘संविधान जारी गरेपछिको जस्तो सम्बन्ध निरन्तर रहनु हुँदैन भनेर हामीले पहल गर्यौं ।
 
त्यसमा अहिले सुधार आइसकेको छ । अबको सम्बन्ध २१औं शताब्दीको उचाई कायम हुनुपर्छ । विश्वव्यापी रुपमा एक अर्काप्रतिको निर्भरता बढेको, विज्ञान र प्रविधिका विकास र विश्वव्यापीकरण यूग अनुसारको सम्बन्ध कायम हुनुपर्छ । अब नयाँ दायरामा सम्बन्ध अघि बढाउनु पर्छ ।’उनले नेपाल भारत सम्बन्ध सहज र सामान्य बन्दै गएकोले अब दुई देशको जनताको चेतनाको जगमा सम्बन्ध बन्नु पर्ने भन्दै दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड्न नहुने तर्क गरे । 
 
भट्टराईले भने,‘ दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड अप्ठ्यारो पर्छ । मधेसको समस्या आन्तरिक समस्या हो यसलाई बार्ता र संवादबाट छिटो समाधान गर्नु पर्छ र त्यसकोलागि पहल भइरहेको छ ।’ भट्टराईले असार २० र २१ गते प्रवुद्ध समूहको बैठक काठमाडौमा बस्ने र परिचयात्मक गोष्ठी हुने जानकारी दिँदै समूहको दुई वर्षे कार्यकालमा के–के गर्ने भन्ने विषयको योजना बनाउने जानकारी दिए । 
 
उनले समूहको बैठक प्रत्येक तीन–तीन महिनामा बस्ने र त्यसले नेपाल भारत सम्बन्ध सुमधुर पार्न दुई देशबीचका सन्धि, सम्झौताहरुलाई समयानुकुल बनाउन आवश्यक सुझावदिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ