arrow

सरकारले साउनदेखि‘कृषि विकास रणनीति’सञ्चालन गर्ने

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
ministry-of-agriculture.jpg.jpeg
काठमाडौँ । सरकारले आगामी साउनदेखि ‘कृषि विकास रणनीति’ सञ्चालन गर्ने भएको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठानको आयोजनामा आज भएको ‘नेपाल धानमा कहिले होला आत्मनिर्भर’ विषयक अन्तक्रियामा कृषि क्षेत्रको विकासका लागि २० वर्षे ‘कृषि विकास रणनीति’ सञ्चालन गर्ने जानकारी दिइयो । 
 
कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले नेपाल धान उत्पादनमा आत्मनिर्भर मात्र हैन निर्यात गर्नेसम्म बन्न सक्ने भएकाले सबै निकायको सक्रिय सहभागिता र प्रतिबद्धताको आवश्यकता औँल्याए । उनले भने – “राजनीतिक स्थायित्व भए नेपाल एक वर्षभित्र नै धान उत्पादनमा आत्मनिर्भर बन्छ ।” 
 
कृषि विभागका महानिर्देशक युवकध्वज जोशीले कृषिमा यान्त्रिकीकरण गर्न सके यसले उत्पादनमा वृद्धि ल्याउनुका साथै लागत पनि कम हुने बताए  । उनले नेपालमा सिँचाइ, मल प्रयोगको जानकारी अभावजस्ता कारणले उत्पादन हुनुपर्ने जतिको धान पनि उत्पादन हुन नसकेको बताए । 
 
कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी प्रमुख युवराज पाण्डेले सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ भने । नार्कले सिफारिस गरेको जात, भनेको ठाउँमा रोप्ने हो भने प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन हुने उहाको दाबी छ । 
 
धानविज्ञ भोलामान सिंह बस्नेतले धान उत्पादन गर्ने क्रममा बीउ, मल, सिँचाइबाहेक विज्ञको सल्लाह सुझावलाई पनि कृषकले आत्मसात् गर्नुपर्नेमा जोड दिए  । राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारीले नेपालमा अहिले धेरै धान फल्ने आशामा सरकारले सिफारिस नगरेका धानका बीउसमेत प्रयोग गरी दीर्घकालीन रुपमा माटोमा असर परिरहेको बताउँदै यसलाई सरकारले अनुगमन गर्नुपर्ने माग गरे । 
 
‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ असार १५ गते राष्ट्रिय धान दिवस मनाइने भएको छ । मन्त्रालयका अनुसार आव २०७२/७३ मा करिब १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ