कपिलबस्तु । कपिलवस्तुमा सर्पको डसाईबाट २ दिनमा २ बालबालिकाको मृत्यु भएको छ । बिषालु सर्पको टोकाईबाट एक बालिका र एक बालकको मृत्यु भएको तौलिहवा अस्पतालले जनाएको छ । आज बिहान कपिलवस्तु नगरपालिका– १३ मालपाराका राजु धोबीका ढेड बर्षे छोरा अंगद धोवीको मृत्यु भएको छ ।
घरमा खेलीरहेका बालकलाई बिषालु सर्पले टोकेपछि उपचारका लागि तौलिहवा अस्पताल लगिएको थियो । अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा पठाईएको थियो । त्यहा पनि उपचार हनु नसके पछि लुम्बिनी अंचल अस्पतालमा लैजाने क्रममा बालकको बाटो मै मृत्यु भएको थियो । यस्तै गत असार १२ गते राति बिषालु सर्पको टोक्दा बासखोर– ७ की १२ बर्षिया अन्जु नाउको समेत मृत्यु भएको छ ।
तौलिहवा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बालिकाको मृत्यु भएको थियो । उता अंगदको उपचारमा तौलिहवा अस्पतालका स्वास्थ्यकर्मीहरुले लापरवाही गरेको भन्दै मृतक परिवार र आफन्तहरुले तौलिहवा अस्पताल र प्रशासन कार्यालयमा घेराउ गरेका थिए । मृतकका बुवा राजुले सयममै अस्पतालमा उपचार गर्न ल्याए पनि ईमरजेन्सीमा खटिएका कर्मचारीहरुको लापरवाहीले छोराको ज्यान गएको आरोप लगाए ।
छोराको हातको पट्टी खोलेर उपचारमा ध्यान नदिएर उक्त फांटका कर्मचारी चिया खान गएकाले छोराको ज्यानै गएको उनले बताए । घटनाको छानबिन गरी दोषीमाथी कारबाही गर्नुपर्ने प्रशासन कार्यालय पुगेका राजुले प्रजिअ ईन्दु घिमिरे समक्ष माग गरे । प्रजिअ घिमिरेले घटनाका बिषयमा बुझ्ने र दोषी देखिए कारबाही गर्ने आश्वासन दिएका छन् । उता अस्पताल प्रशासनले बालकको मृत्युमा स्वास्थ्यकर्मीको कुनै लापरवाही नभएको दाबी गरेको छ ।