arrow

१४ लाख भन्दा बढीले खोपको दोस्रो डोज समयमै पाउने अनिश्चित

खोप कहिले आउँछ भन्ने विषयमा केही भन्न नसक्ने अवस्था

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौं । दोस्रो चरणको अभियानमा खोप लगाएका ६५ वर्षमाथि उमेर समूहका नागरिकले दोस्रो डोज समयमै नपाउन सक्ने देखिएको छ ।पहिलो चरणमा खोप लगाएका अग्रपङ्तीमा कार्यरतहरूले वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज खोप लगाइसकेका छन् । अग्रपङ्तीमा कार्यरतहरूले माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियानमा पहिलो डोज लगाएका थिए ।

त्यसपछि, फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथि उमेर समूहकाहरूले पहिलो डोज खोप लगाएका थिए । फागुनमा पहिलो डोज लगाएकाहरूले जेठमा दोस्रो डोज लगाउनु पर्ने छ । तर, दोस्रो डोजका लागि भारतबाट खोप आउने सम्भावना एकदमै न्यून देखिएको छ ।

पहिलो र दोस्रो चरणमा भारतको सेरम इन्स्ट्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप नै दिइएको थियो । अहिले सरकारसँग कोभिसिल्ड खोप नरहेको खा स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्माले बताए ।

एक भारतीय सञ्चारमाध्यमले भारतीय विदेश सचिव  हर्षवर्धन श्रृंगलाको भनाइ उदृत गर्दै जुलाई अघि छिमेकी राष्ट्रहरूलाई खोप उपलब्ध गराउन नसकिने अवस्थाको आङ्कलन गरेको छ ।

'अहिले हाम्रो खोप अभियान अत्यावश्यक छ र यो हाम्रा सबै पार्टनरहरूले बुझ्ने छन्', भारतीय विदेश सचिव श्रृंगलाले भनेका छन् । 'अहिले हामीलाई धेरै आवश्यकता छ, त्यस कारणले हामीले जे उत्पादन गर्छौं हाम्रो घरेलु खोप कार्यक्रमका लागि आवश्यक पर्छ' उनले भनेका छन् ।

केही अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँगको फोन वार्ताका क्रममा नेपाल खरिद गरेको खोप आपूर्ति गरिदिन आग्रह गरेका थिए । 

त्यसयता पछिल्लो समय नयाँ दिल्ली स्थित दूतावासले नै खोप आपूर्तिका लागि पहल चालिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । अहिले, 'खोप कहिले आउँछ भन्ने विषयमा केही भन्न नसक्ने अवस्था रहेको' उनले बताइन् ।

एकातर्फ, कोभिड१९को महामारीले भारत विकराल अवस्थाबाट गुज्रिरहेका बेला नेपालले खोप आपूर्तिका लागि खुलेर भन्न सक्ने अवस्था देखिँदैन । अर्कोतर्फ, जोखिम पूर्ण उमेर समूहलाई समयमै खोपको दोस्रो डोज दिन पनि जरुरी देखिन्छ ।

खोप आपूर्तिका लागि नयाँ डेभलपमेन्टहरु भएकोबारे पछिल्लो जानकारी नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले बताए । 'खोप आउने विषयमा अहिले यकिन केही भन्न सकिन्न,' आपूर्तिका लागि पहल भइरहेको छ उनले भने ।

यसबाट नेपालमा झण्डै १४ लाख भन्दा बढी नागरिकलाई दोस्रो डोज समयमै मिल्ने कुरामामा आशङ्का उत्पन्न भएको छ ।

भारतबाट खरिद गरेको २० लाख डोज खोपमध्ये नेपाल पुगेको १० लाख र अनुदान स्वरूप पाएको १० लाख र कोभ्याक्स सुविधाबाट पाएको करिब साढे ३ लाख खोप गरी सरकारसँग करिब साढे २३ लाख डोज खोप उपलब्ध भएको थियो ।

सो मध्ये करिब १८ लाखले पहिलो मात्रा लगाएका छन् । भने ३ लाख ६२ हजारले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

अब जेठमा १४ लाख भन्दा बढी मानिसलाई दोस्रो मात्रा दिनुपर्नेछ, तर हाल सरकारसँग यो खोपको मात्रा शून्यमा झरेको छ । 

भारतको आफ्नै अवस्था भयावह भएको अवस्था र कच्चा पदार्थमा अमेरिकाले लगाएको प्रतिबन्धले पनि खोप उत्पादन र व्यवस्थापनमा समस्या उत्पन्न भएको देखिन्छ ।

खासमा भारतमै खोप उत्पादन क्षमता घटेको छ भने, आवश्यकता अत्यधिक बढी छ । यस्तोमा अवस्थामा नेपाल मात्रै हैन, श्रीलंका, बंग्लादेशलगायतले पनि खरिद सम्झौता गरेको खोपको आपूर्ति पाएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ