एजेन्सी । फ्रान्समा जारी युरोकप फुटबलका क्वार्टरफाइनल समीकरण पूरा हुँदा रोमाञ्चक मोडमा पुगेको छ । विश्व फुटबल पावर हाउस एवं डेफेन्डिङ च्याम्पियन स्पेन, बलियो प्रतिस्प्रर्धी इङ्गल्याण्ड जस्ता मुलुक नकआउट चरणबाटै बाहिरिएका छन् । पहिलो पटक सहभागिता जनाएको आइसल्याण्ड क्वार्टर फाइनल पुगेको छ ।
यस्तै क्वार्टरफाइनल खेल्न पाउने र नेपाउने खेलाडीको चर्चाले समेत युरोकपको गर्मी बढेको छ । बेल्जियमबाट थोमस भर्मलेन, आयोजक फ्रान्सबाट निगोलो कान्टे र एडिल रामी तथा इट्लीबाट थियागो मुत्ताले क्वार्टरफाइनल खेल्न पाउने छैनन् ।
उता, पोल्याण्डका बार्तोस कपुस्त्का कम ब्याक गर्ने छन् । यस्तै पहेंलो कार्ड खाएर वार्निङ पाएकाहरु भने धेरै छन् । पोल्याण्डकै ६ जना छन् भने पोर्चुगलका नाम चलेका पेपे सहित तीन जना छन् । वेल्सका आरोन राम्सी, नाइल टेलर, साम भोक्सलगायत चार जनाले फेरि पनि पहेंलो कार्ड खाए सेमिफाइनल खेल्न पाउने छैनन् । बेल्जियमका समेत पाँच खेलाडीले पहेंलो कार्ड पाएका छन् ।
पहेंलोकार्ड पाउनेमा सबै भन्दा बढी उपाधि दावेदार इट्ली छ । जर्जिओ केलेनी, ग्रजिआनो पेलीसहित ११ खेलाडीले पहेंलो कार्ड पाएका छन् । जहाँ इट्ली निकै संयमित हुनु पर्ने छ । अर्को उपाधि दावेदार जर्मनीका समनेत पाँच खेलाडीले पहेंलो कार्ड पाएका छन् । यी दुई महारथीचको क्वार्टरफाइनल भिडन्त आगामी आइतबार राति पौने १ बजे हुनेछ ।