arrow

अस्पतालमा अक्सिजनको अभाव हुँदैन, घरमा सिलिन्डर राखे खतरा हुनसक्छ !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
corona-oxygen.jpg

काठमाडौं । कोभिड१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गए पनि हालसम्म अक्सिजनको अभाव नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको सङ्क्रमणपछि गम्भीर अवस्था सिर्जना भएकाहरूको शरीरमा अक्सिजनको मात्रा कम हुँदै जान्छ ।

प्राकृतिक श्वासप्रश्वासबाट शरीर भित्र कम अक्सिजन प्रवेश हुन्छ । त्यसकारण शरीरमा अक्सिजनको मात्रा कम भएको अवस्थामा अक्सिजन प्लान्टबाट जडित पाइप या सिलिन्डरबाट शुद्ध अक्सिजन मात्रै मानिसलाई दिइन्छ ।

प्लान्टबाट दिने अक्सिजन तरल अवस्थामा हुन्छ भने, सिलिन्डरबाट दिने अक्सिजन ग्यास अवस्थामै हुन्छ ।

नेपालमा आइतवार (हिजो)सम्मको तथ्याङ्क अनुसार ४ सय ७७ जनाको आइसियुमा उपचार भइरहेको छ भने, १ सय ३१ जनाको भेन्टिलेटर मा उपचार भइरहेको छ । खास गरी यस्तो अवस्थामा रहेका बिरामीहरूलाई अक्सिजनको आवश्यकता बढी हुन्छ। 

नेपालमा देशभित्रै ग्यास अक्सिजन उत्पादन गर्ने २५ भन्दा बढी प्लान्ट भएका कारण अक्सिजनको अभाव नहुने अक्सिजन उद्योगी र स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ ।

भारतबाट आउने तरल अक्सिजन (जुन प्लान्टमा राखिन्छ)को आपूर्तिमा केही बाधा उत्पन्न भए पनि नेपालमै उत्पादित ग्यास (सिलिन्डर मा भरिने अक्सिजन)ले माग धान्ने उद्योगहरूले समेत दाबी छ ।

सिलिन्डरको अभाव हुन सक्ने

भारतमा अक्सिजनको अभाव भएको देख्दा नेपालमा पनि सोही अवस्था आउन सक्छ भनेर मानिसहरूले आत्तिएको अवस्था छ ।

धेरै मानिसहरूले अक्सिजनको सिलिन्डर नै घरमा राख्न थालेका छन् । यस कारण अक्सिजनको सिलिन्डर को अभाव हुनसक्ने चिन्ता स्वास्थ्य मन्त्रालयको छ ।

काठमाडौँको बालाजु स्थित शङ्कर अक्सिजन उद्योगका प्रबन्धक विष्णु भण्डारीले मानिसहरूले व्यक्तिगत रूपमा अक्सिजन सिलिन्डर किन्न खोजिरहेको बताए ।

यसरी मानिसहरूले व्यक्तिगत रूपमा सिलिन्डर किनेर घरमा राख्दा अस्पतालमा अक्सिजन पठाउने क्रममा (सिलिन्डर को कमी भई) बाधा आउन सक्ने चिन्ता बढेको छ ।

अस्पतालमा सयौँको सङ्ख्यामा अक्सिजन सिलिन्डरहरू निरन्तर चाहिरहने हुन्छ । तर, मानिसहरूले सिलिन्डर घरमा थुपारे भने सिलिन्डर को अभाव हुनसक्ने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए । यस कारण अक्सिजन सिलिन्डर घरमा नलैजान स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको छ । 

कोभिड१९ को सङ्क्रमणपछि गम्भीर अवस्थाका सङ्क्रमितलाई अक्सिजनले मात्रै बचाउन सक्छ भन्ने पनि हैन । सङ्क्रमितको उपचारका लागि अन्य मेडिकल उपकरण र प्रोटोकलको आवश्यकता पनि रहन्छ । 

यस कारण घरमा नै सिलिन्डर राख्न उचित नहुने चिकित्सकहरूको भनाइ छ ।

सिलिन्डर घरमा लैजाँदा खतरा

अक्सिजन सिलिन्डर घरमा राख्दा अस्पतालहरूमा अभाव हुने समस्या सँगै अन्य दुर्घटना हुनसक्ने खतरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सह प्रवक्ता डा. समीर अधिकारीले स्वास्थ्य मन्त्रालयले घरमा सिलिन्डर नथुपार्न मानिसहरूलाई आग्रह गरेको बताए ।

व्यक्तिगत रूपमा सिलिन्डर किने राख्न खोज्दा अस्पतालमा सिलिन्डर को अभाव हुनुका साथै दुर्घटना समेत निम्त्याउन सक्ने सह प्रवक्ता डा. अधिकारीले बताए ।

अक्सिजन तेल र ग्रिजजस्ता पदार्थसँग सम्पर्कमा आउँदा विस्फोट हुन सक्छ । त्यस्तै अक्सिजन लिक भयो भने यसले घातक अवस्था सिर्जना गरिदिन सक्छ ।

मानौँ, कोठाभित्र हावामा अक्सिजनको मात्रा २४ प्रतिशत भन्दा बढी भयो भने यसले आगलागीको सम्भावनालाई बढाइ दिन्छ ।

त्यस्तै अक्सिजन अत्यधिक मात्रामा फैलिएको अवस्थामा सास फेर्दा कोषहरूमा हानी हुने, फोक्सोमा समस्या उत्पन्न गराउने एवं अक्सिजन विषाक्तता हुने सम्भावना समेत रहन्छ जसले मानिसको ज्यान समेत लिन सक्छ ।

हालको अवस्थामा सङ्क्रमण बढ्दै जाने हो भने, नेपालमा अक्सिजनको माग पनि बढ्दै जाने देखिन्छ ।  यसका लागि भारतबाट तरल अक्सिजन आपूर्ति हुन नसके पनि नेपालमा उत्पादित ग्यास अक्सिजनको आपूर्ति बढ्ने छ । जसका लागि सिलिन्डर को माग सङ्ख्या पनि वृद्धि हुन सक्छ ।

याे पनि



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ