arrow

पार्टी एकता कायम गर्न नेपालको ओलीलाई ६ बुँदे प्रस्ताव

महाधिवेशनको मिति तोकौँ  र त्यसकालागि आयोजक समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
oli-nepal-1619092070.jpg
फाइल तस्विर।

काठमाडौं। नेकपा एमालेमा बढ्दो ध्रुवीकरणको सङ्घारमा वरिष्ठ नेता माधव नेपालले पार्टी एकता कायम राख्न छ बुँदे प्रस्ताव गरेका छन्। उक्त प्रस्ताव अनौपचारिक रूपमा केपी ओलीलाई दिइएको छ।

प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने निश्चित भरसकेपछि माधव नेपाल पक्ष सांसदहरूले सामूहिक राजीनामा दिने किसिमका कुराहरू बाहिरिन थालेपछि ओली पक्षलाई शंका लाग्न थालेको छ। यस क्रममा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसका सभापतिलाई समेत गुहारिसकेका छन्।

नेपाल पक्षको प्रस्तावमा विश्वासको मत पाउन र पार्टी एकता कायम गर्न आवश्यक कदमहरू बारे उल्लेख गरिएको छ। ओली पक्षले ती बुँदाहरूमा कस्तो प्रतिक्रिया जनाउँछ त्यसमा निर्भर रहनेछ आगामी दिनको नेपाली राजनीति।

प्रस्तावको पहिलो बुँदामा २०७५ ज्येष्ठ २मा रहेको पार्टी संरचनालाई क्रियाशील पार्ने भन्ने रहेको छ। यो बुँदा पछिल्लो होटेल मेरियटमा भएको ओली नेपालको बैठकमा पनि उठेको लगायत धेरै पटक सार्वजनिक बहसमा आइसकेको छ।

त्यसैगरि पहिलो केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको मिति तोक्ने र आयोजक समिति गठन गर्ने अर्को प्रस्ताव रहेको छ। यसबारेमा पनि अनौपचारिक रूपमा छलफलहरू भइरहेको दुवै पक्षका नेताहरू बताइसकेका छन्। त्यसैगरि दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाउन पनि प्रस्ताव गरिएको छ।

यसरी अघि बढे वैशाख २७मा विश्वासको मत लिएर अघि बढ्न सकिने नेपाल पक्षको प्रस्ताव रहेको छ। यस क्रममा अरू पार्टीबाट आएकाहरूलाई पनि तद्अनुरुप मिलाएर अघि बढ्न प्रस्ताव गरिएको छ।

पछिल्लो समय नेकपा एमालेका विभिन्न तहका नेताहरू दुई नेताबीच सहमति गराउन लागि परेका छन्।  हिजो मात्र ईश्वर पोखरेलले योगेश भट्टराईसँग सिंहदरबारमा करिब दुई घण्टा छलफल गरेका थिए। त्यसैगरि केपी ओलीले माधव नेपाललाई भेटेर छलफल गर्न प्रस्ताव पनि गरेका छन्।

ओलीको प्रस्तावलाई सिधै नकारेका नेपालले पछिल्लो समय पार्टी एकता कायम राख्ने भनेर छ बुँदे प्रस्ताव गरेका छन्। अनौपचारिक भए पनि यो नेपाल पक्षको सकारात्मक कदमका रूपमा हेरिएको छ। ओली पक्षले उक्त प्रस्तावलाई कसरी लिनेछ त्यसमा आगामी राजनीतिको यात्रा तय हुने छ।

पार्टी एकता कायम राख्ने प्रस्तावहरुः
१. २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।

२. पहिलो केन्द्रीय कमिटी बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौँ  र त्यसकालागि आयोजक समिति गठन गरौँ ।
३. आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गरौँ ।

४. मातहत कमिटीका अधिवेशन गर्ने समय सीमा तोकौँ । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाऔं ।

५. एकताबद्ध भएर वैशाख २७ गते संसद्मा विश्वासको पक्षमा मतदान गरौं ।

६. दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ