- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रधानमन्त्री केपी शर्मा ओली स्वभावतः आफ्ना नजिककाहरुलाई संरक्षण गर्न सक्ने नेताका रुपमा परिचित छन् । उनी आफ्नाहरुका लागि कतिसम्म गर्न सक्छन् भन्ने केही गतिला उदाहरण घाम जस्तै छर्लङ्ग रहेको छ । सांसद गोकुल बास्कोटाको ७० करोड प्रकरण, सांसद महेश बस्नेतको अपहरणकाण्ड, राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको चौतर्फी नियुक्ति, मन्त्री भानुभक्त ढकालका अबौंर्का भ्रष्टाचारकाण्ड, मुख्यमन्त्री शंकर पोखरेलदेखि पृथ्वीसुब्बा गुरुङ्गद्धारा चालिएका कदम अनि ३५ करोडको खोपकाण्ड मुख्य दृष्यमा देखिएका विषयहरु हुन् । अन्य कयौ राष्ट्रिय नियुक्तिहरु अनि जिम्मेवारीहरुको फेयरिस्ता लामो नै रहेको छ ।
प्रधामन्त्रीज्यू, तपाईको सल्लाहकार मण्डलको तुच्छोपन कहाँसम्म पुगेको छ यो स्वयं उहाँहरुले नै मनन गर्न सक्नुहुन्छ ।
अस्गर अलीदेखि सूर्य थापा अनि विष्णु रिमालसम्मका गैरजिम्मेवार तर्क विचार अनि प्रधानमन्त्रीय सल्लाहकार मण्डलबाट बेलाबखत व्यक्त हुने धम्कीका भाषाहरुमा समेत तपाई प्रधानमन्त्री ओली भिष्म पितामहझैं बनिदिन पछि नपरेको देखिन्छ । प्रम आफ्नाहरुका लागि जति खुल्ला अनि सहज छन् । प्रतिपक्ष र आफ्ना प्रतिकुलका लागि कति कठोर छन् भन्ने दृष्टान्तहरु बग्रेल्ती भेटिन्छन् । नेपाली कांग्रेसका सबालमा प्रमले प्रजातान्त्रिक आन्दोलनका वैचारिक मसिहा वीपी कोइराला एमाले बन्ने थिए भन्ने लगायतका कटुवचनहरुको ठेली नै बन्ने पक्का छ ।
एक नेताका रुपमा त्यो सामान्य होला तर प्रधानमन्त्रीका रुपमा तपाईका वचनहरु एक सभ्य समाजका लागि पाच्य हुनै सक्दैन । त्यति मात्रै नभई प्रतिपक्षका रुपमा खरो प्रश्न गर्ने तर जिम्मेवारीका लागि हरदम तयार रहने वर्तमान राजनीतिका आशा गगन थापालाई गिज्जाउने बालहठीपन झनै नमज्जाको देखिन्छ । नेपाली कांग्रेस अब इतिहासमा नै भेटिन गाह्रो रहेको र काँग्रेस अब कहिल्यै सरकार बनाउने क्षमता राख्दैनन् भनेर तुच्छ तहको भनाई कम्तीमा तपाईका लागि सुहाउने भनाइ होइन । त्यसो त प्रमले आफ्नै पार्टी भित्रका सहयोद्धाहरुमाथि गर्ने टिप्पणीका आधारमा हो भने प्रतिपक्षका लागि व्यक्त गरिएको भनाइलाई सामान्य मान्न सकिन्छ । यस प्रकारको रवैया, कठोरता अनि राज्य शक्ति भोगचलनमा देखिएको यो अतृप्ता किन ? के का लागि ? कसका लागि ?
यो अध्यायका लागि सन १९२८ तिरको एउटा इतिहास स्मरण गर्नु जायज ठान्दछु । स्टालिन जसलाई क्रुरताको मसिहा भनेर हामी पढिरहेका छौ । प्र.म लाई स्टालिनका बारेमा बताउनु मेरो मुर्खता होला । उनि तिनै स्टालिन हुने जसले उनको क्रुरताको विरुद्ध बोल्ने महान लेखक म्याक्सिम गोर्कीको समेत रहस्मयपूर्ण ढङ्गले हत्या गरिदिए । इतिहास त्यहि बताउछ । स्टालिन करौड जनताको जिवन र मृत्युको अजंग शक्ति बनेर बसे । उनका विरुद्ध जो बोल्थे कि त आत्महत्या गर्न बाध्य हुन्थे, कि देश निकाला हुन्थे । स्टालिनका जन्मदिनहरु भव्य रुपमा मनाइन्थ्यो, गुणगान गाइन्थ्यो । उनका सम्मानमा ¥यालीहरु हुन्थे । सडकभर फोटाहरु राखिन्थे ।
उनका सहयोगीहरु उनलाई मसिहा मान्नु पर्छ भन्दै जनतालई उत्साहित पार्थे । स्टालिनले १९५३ मा यो संसारबाट विदा लिए । , कतै खुशी कतै रुवावासी, कतै आक्रोश त कतै भविष्यप्रतिको चिन्ता थियो । एक दिन एउटा सभामा खुश्चेबले स्टालिनको विरोध गरेर भाषण गरे । त्यही बीचमा एक स्टालिन समर्थकले चिच्याउँदै भने, उनी ज्युँदो हुँदा किन केही बोल्न सक्नु भएन र अहिले उनी मरेपछि विरोध गर्दै हुनुहुन्छ कि स्टालिन तानाशाह हुन् ? क्रुर हुन ? खुश्चेबले कडा श्वरमा बोले यो बोल्ने को हो ? खुश्चेबले आवाज आएको ठाँउतिर हेर्दै भने ‘फेरि बोल्नुस् त को हो प्रश्न गर्ने’ जोडले चिच्याए को हो प्रश्न गर्ने ? तर उत्तर आएन ।
अनि खुश्चेबले भने हो म पनि त्यो बेला बोल्न सक्दैनथे, मारिउँला वा सिध्दिउँला भन्ने डर थियो । आजको अवस्था फरक छ । आज हरेक सामान्य नागरीक पनि क्रुर शासक हुन् वा प्रधानमन्त्री उनका गलत कार्यहरुका विरुद्ध आगो ओकल्न सक्छन् । स्टालिनको हजारौँ अवगुणका बीचमा पनि उनले देशको समृद्धि र रसियालाई विश्वको एक औद्योगिक राष्ट्रका रुपमा चिनाउन सफल भए । यस कारण उनी राजनीतिको इतिहासमा परिचित छन् ।
प्रम युगले दिएको राजनेता बन्ने अवसरमा किन तुषारापात हुँदैछ ।
स्टालिनको सानो आख्यान बालुवाटारको अवस्था यस्तै केही विषयहरुमा मेल खाने तरिकाका छन् भन्ने स्मरणका लागि मात्रै हो । सम्माननीय प्रधानमन्त्रीको बालुवाटारमा बर्थडेको जस्न मनाइन्छ । नेपालको नक्सालाई केक बनाएर काट्न लगाइन्छ । प्रमका भाषण सुन्नका लागि राज्यस्रोतको चरम दोहन गरेर नागरिक जम्मा पारिन्छ । देशको सार्वभौमतामा विदेशीलाई युद्ध हराएकोझैं सिंँहनाद गरेर आफ्नाहरुका विरुद्ध विषवमन गर्ने अवस्थाको निर्माण गरिन्छ ।
राज्यको सम्पदा र सम्पतिहरुमा नामकरणका लागि हतारहतार समारोहको दिप बालिन्छ । यो वालुवाटर भित्रको संयन्त्रले प्रधानमन्त्रीलाई यसरी थिचेको छ कि उनलाई राज्यको कुनै चित्र स्पष्ट देखाइएको छैन । उनी त्यो दृष्यहरु हेर्न चाहने सोचमा पनि छैनन । किनकि सब ठीकठाक जो चलेको छ । यो प्रसंग यहाँ जोड्नुको तात्पर्य वालुवाटारको शासन अहिले जनप्रेमी छैन भन्ने भावना हरेक कम्युनिष्ट कार्यक्रताहरुको मनमा भरिएको हुनुपर्छ । जनताले सोचे अनुरुपको शासन व्यवस्था सञ्चालन हुन नसकेकोमा उनीहरुो पीडा पनि छ । एकातर्फ पार्टी सिद्धान्त, विचार अनि अनुशासनबाट च्युत भएको भन्दै वकालत गर्ने तर पदीय लुप्तताका कारण सच्चिनु पर्छ भन्दै प्रमका लागि ढाकछोप गर्नेहरु पनि उत्तिकै छन् ।
अर्कोतर्फ सम्भावना भएका युवा नेताहरुले समेत कम्युनिष्ट राजनीति नै समाप्त हुन सक्ने भन्दै चिन्ताव्यक्त गर्न थालेको धेरै भइसकेको छ । दुवै विचारको समिश्रणमा यो भन्न सकिन्छ कि दुईतिहाइको यो सरकार जनताप्रति बफादार हुन सकेन । स्पष्ट जवाफका बीचमा पनि प्रधानमन्त्री केपी शर्मा ओली किन हरकुरालाई नजरअन्दाज गरिदिन्छन । किन उनि आफु अनुकुलको धारणा नराख्नेहरुलाई वैरी सरह व्यवहार गर्छन् । यो आम प्रश्न बनिसकेको छ ।
महाभारतको एउटा उदारहण यहाँ सान्र्दभिक देखिन्छ । दुर्योधन र अर्जुन द्रोणाचार्यका चेलाहरु हुन् । उनीहरु दुवै चेला उत्तिकै बलवान र सक्षम थिए । फरक यत्ति थियो कि अर्जुनका सल्लाहकार कृष्ण थिए । दुर्योधनका सल्लाहकार शकुनी थिए । बालुवाटार शकुनीहरुको कब्जामा छ । बालुवाटारबाट बाहिर निस्कने बित्तिकै ‘केपी बा आइलभ यु’ को नारा घन्किन्छ भने प्रधानमन्त्रीलाई यो भन्दा ठूलो के चाहिएको छ । रोग, भोक, भयावह, चित्कार क्रन्दन यो वालुवाटारको पर्खालसम्म पनि पुग्दैन ।
के स्टालिनका भजन मण्डलीको अध्ययन अनि द्रोणाचार्यका चेलाहरुको बारेमा प्रधानमन्त्रीलाई थाहा नभएको हो र ! पक्का हुनुपर्ने हो । किनकी प्रधानमन्त्रीको ज्ञान चच्छु पनि कमजोर धरातलको छैन । अन्त्यमा, प्रधानमन्त्रीज्यू तपाई आफ्ना अनुकुलहरुका लागि जति सहज बन्नुभएको छ । त्यो जत्तिकै सहज तपाईका प्रतिकुलहरुका लागि हुनुभयो भने उपलब्धी बढी प्राप्त होला । नेपाली राजनीतिमा यस प्रकारको अवसर कसैले पाएका छैनन् र सम्भवतः पाउन सहज पनि छैन ।
अत्यन्तै छोटो समय भित्रको यो यात्रा बन्न सकेको खण्डमा नेपाली नागरीकले केहि राहत पाउन सक्लान अन्यथा, लाश माथी लाश , चिता माथी चिता बनेको दृष्यहरु वालुवाटारका पर्खालहरुमा टाँसिने छन् । रोग र भोकका कारण लत्पतिएका रगतका छिटाहरुले तपाँइका पोशाकहरु रंगिने छन । आर्थिक व्यवस्था चौपट हुँदा आत्महत्याका समाचारहरुले तपाईलाई दैनिक पिरोल्नेछ । राज्यका अंगहरुमा माफियाहरुको रजगजीमा इमान्दारहरुको चिरहरण हुनेछ । वालवालिकाहरुको शिक्षा अवस्था ध्वस्त हुँदा छिमेकी राष्ट्रहरुले कयौं समयसम्म दाश बनाएर राख्ने पक्का छ ।
यो दाशत्वका विचमा आँखाबाट निस्कने आँशुले निकै पोल्नेछ । यो अवस्थमा चन्द्रशेखर आजादको एउटा भनाईलाई स्मरण गर्नु न्यायोचित हुन्छ । ‘आफ्नो पुरानो इतिहासलाई हेर । मानवताको दुःख र पीडालाई सम्झ । जसले यो बुझ्दैन उसको पीडामा रुन इतिहाससँग कुनै आँशु रहने छैन ।’