arrow

माधव समूहका सांसदलाई कारबाही गर्ने विषयमा ओली परामर्शमा, राजीनामा अघि नै कारबाही हुन सक्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
oli-nepal-1619092070.jpg
तस्बिर : फाइल

काठमाडौँ। सत्तारुढ दल एमाले भित्र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार बिहानैदेखि आफू निकटका नेताहरूसँग छलफलमा जुटेका छन्। खास गरी माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने बताएपछि ओली आइतबार बिहानैबाटै आन्तरिक छलफलमा जुटेका हुन। आफू निकटका नेताहरूसँग ओलीले नेपाल पक्षलाई ल्याए पनि सँधैभर किचकिच सुन्नु पर्ने भएकाले अब विवाद मिलाउने कोसिस गर्नुभन्दा आजै सांसद पदबाट निलम्बन गरी अघि बढ्ने विषयमा छलफल गरेका हुन्।

शनिवार साँझ नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने गरी हस्ताक्षर सङ्कलन गरेपछि ओलीले उनीहरूलाई सांसद पदबाट निलम्बन गर्ने विषयमा छलफल गरेको स्रोतको दाबी छ। ‘उहाँहरूको विषयमा के गर्ने भन्ने बारेमा छलफल हुँदै छ पार्टी एकताको सम्भावना भने टरेको छैन अहिले पनि एकता र विवादरहित एमाले निर्माणको विषयमा छलफल भएको छ’, बालुवाटारमा रहेका ओली निकट नेता सुवास नेम्वाङले भने। उनका अनुसार पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र सांसदबाट नेपाल पक्षले राजीनामा दिनु पर्ने  कुनै कारण छैन। तर ओलीले भने निलम्बन गरेर अघि बढ्न आफूलाई सहज हुने बताइरहेका छन्। 

एमालेको असन्तुष्ट पक्ष (माधव नेपाल) आफूनिकट सांसदको सामूहिक राजीनामा गराउने लगभग निष्कर्षमा पुगेपछि ओली पक्षले खास प्रतिरक्षा गरे पार्टी मिलाउने सम्भावना नभए एमाले विभाजनको डिलमा पुगेको छ । माधव नेपाल पक्षका एक नेताको दाबी अनुसार दोस्रो तहका नेताबीच भएको ‘अन्डरस्ट्यान्डिङ’ मा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाएपछि सामूहिक राजीनामा गराउने तयारी भएको हो । 

सोमबार हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने कार्यक्रम आउनु भन्दा अगावै सांसद पदबाट राजीनामा दिएर बाहिरिने छन् । त्यस बेला कर्णालीमा जस्तो फ्लोर क्रस गर्दा पार्टीको अनुशासन विपरीत हुने भएकाले बरु त्यसअघि नै सांसदले सामूहिक राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्ने निर्णयमा नेपाल पक्ष पुगेको स्रोतको दाबी छ । बालुवाटारले नेपाल पक्षको रणनीति बुझेपछि उनीहरूलाई निलम्बन गरेर अघि बढ्न खोजेको स्रोतको दाबी छ । 

शुक्रवार प्रधानमन्त्रीको निवास (बालुवाटार) मा दुई पक्षका दोस्रो तहका नेताबीच भएको वार्तामा सबै कुरा मिलिसकेको थियो । त्यसमा माधव नेपालको पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमाल थिए । दुई पक्षबिच एमालेलाई २०७७ जेठ २ गतेकै अवस्थामा फर्काउने ‘अन्डरस्ट्यान्डिङ’ भइसकेको थियो । तर पदाधिकारीबारे के गर्ने भन्ने विषयमा ओली पक्षका नेताले आफ्ना अध्यक्षलाई सोध्नुपर्छ भने यता नेपाल पक्षका नेताले पनि वार्तामा भएका कुरा आफ्ना प्रमुख नेता माधवकुमार नेपाललाई सुनाउने सहमतिसहित वार्ताबाट बाहिरिएपछि शनिवार उनीहरूबीच कुनै संवाद नै हुन सकेन । दुई पक्षबिच संवाद हुन नसकेपछि नेपाल पक्षका सांसदहरूलाई राजीनामा पत्रका हस्ताक्षर गरेर राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ