- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कोरोनाको नयाँ लहर तीव्र गतिले फैलिइरहेको छ । सरकारले निषेधाज्ञा जारी गरे पनि संक्रमणको दर घटेको छैन । ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको सङ्ख्या २२ पुगेको छ । २१ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।
पछिल्ला केही दिनयता ८ देखि ९ हजार संक्रमित हरेक दिन थपिएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले नै दिइरहेको छ । यस्तो अवस्थामा मुलुकको मूली शासक रहेका केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सञ्चार माध्यमा सफेद झुट बोले ।
उनले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा कोरोना महामारी नियन्त्रणमै रहेको भने । त्यति मात्रै होइन उनले संक्रमण फैलिनुको दोष सर्वसाधारणलाई लगाए । सर्वसाधारणको लापरबाहीले कोरोना फैलिएको हो, भने । अघिल्लो वर्ष सरकारले नियन्त्रणमा ल्याइसकेको कोरोना संक्रमण सर्वसाधारणको लापरबाहीले फैलिएको गैर जिम्मेवार अभिव्यक्ति समेत दिन भ्याए, प्रधानमन्त्रीले । यत्ति भनेपछि धेरैको सिरिङ्ग तातियो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले सीएनएनसँग बोलेका कुरालाई लिएर निकै आलोचना भएको छ । सीएनएनको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘पिपुल्स निग्लेजेन्सी अर्थात् मानिसहरूको लापरबाही ।’
परिस्थिति के छ ?
नेपालमा केही दिनयता दैनिक ५० बढी संक्रमितको मृत्यु भइरहेको छ । सामाजिक सञ्जाल अहिले अक्सिजन, अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर, प्लाज्मा, रेम्डिसिभर आदि चाहियो भन्दै सहयोग तथा याचनाले भरिएका छन् ।
सुनसान शहरमा दौडिरहेका एम्बुलेन्सको आवाजले मान्छेहरू झन् त्यसै आत्तिइरहेका छन् । मुलुकको राजधानी काठमाडौँका अस्पताल भरिएर उपत्यका बाहिर बिरामी ओसारिरहेका छन्, एम्बुलेन्स । अस्पतालमा बेड पाउने अवस्था छैन । अक्सिजनको अभाव छ । शनिवार मात्रै राजधानी काठमाडौँका चार अस्पतालले बिरामी भर्ना गर्न सक्दैनौँ भनेर हात उठाए ।
केही सहयोगी संस्था तथा समूहले भने आफ्नै तरिकाले कोरोना संक्रमितको उपचार गरिरहेका छन् । उनीहरूले स्वास्थ्य सामग्रीदेखि परामर्शहरू दिइरहेका छन् । आर्यघाटमा सामूहिक दाहसंस्कार भइरहेको छ । राजधानी बाहिर कोरोना संक्रमितको शव आफन्त आफैले अन्त्येष्टि गर्छन् र आफै संक्रमित भइरहेका छन् । सरकारले स्वास्थ्य सङ्कट नियन्त्रणबाहिर गएको घोषणा गरेको छ । निजी अस्पतालले मनलाग्दी शुल्क लिएका घटना पनि बराबर आइरहेकै छन् ।
अर्कातर्फ भारतबाट ल्याउने भनेको खोप करोडौँ कमिसनका कारण अलपत्र परेको छ र आम नागरिक जोखिममा परेका छन् । अग्र पङ्क्तिमा खटिने चिकित्सक र नर्स तथा सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने भनेर बिदा नबस्न उर्दी जारी गरिएको छ । अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई समेत काममा आउन भनिएको छ । तर, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पोहोरकै जोखिम भत्ता अहिलेसम्म पाउन सकेका छैनन् ।
बालुवाटारमै क्वारेनटाइन बनाएर बसेका प्रधानमन्त्री ओलीले सजिलै भन्दिए, कोरोना संक्रमण नियन्त्रणमै छ भनेर । उनले त्यसरी सफेद झुट बोलिरहँदा उनकै सचिवालयका दुई व्यक्तिलाई शनिवार मात्रै कोरोना संक्रमण पुष्टि भयो ।
आफूले गरेको गल्ती महसुस गर्दैनन् ओली
वैशाख पहिलो हप्ता चितवनको अयोध्या पुरी लगिएका राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई बालुवाटारमा विधिवत् रूपमा पूजा गरिएको थियो । वैशाख ७ गते मङ्गलवार प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका थिए । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजामा मान्छेहरूको भीड थियो । प्रधानमन्त्री निवासमा भएको रथयात्रालाई बिदाइ गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेत उपस्थित थिए ।
प्रधानमन्त्री निवासबाट त्यो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भव्य समारोहबिच प्रतिमासहितको रथयात्रालाई बिदाइ गरेकी थिइन् । यो बेला प्रधानमन्त्री र राष्ट्रपतिलाई कोरोना संक्रमणको बिलकुल वास्ता गरेका होइनन् । त्यही ढङ्ग प्रधानमन्त्रीले वैशाख ११ मा पनि दोहोर्याए । पुनःनिर्माण गरिएको धरहरा उद्घाटन गरे । जहाँ सयौँ मान्छेको भीड थियो, उनको वरिपरि ।
यस्तै, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेलले भनेको कुरालाई आधार मान्ने हो भने पनि त्यो बेला खोप लगाउने स्थानमा भिडभाड नै थियो, सार्वजनिक यातायातको त कुरै नगरौँ । सरकारले कडाइ गरे पनि कतिपय क्षेत्रका कार्यालय अहिले पनि खुला छन् । अत्यावश्यकता सेवा तथा क्षेत्र एवं बैङ्क खुला नगरी भएन ।
सरकारले हात उठाएपछि धेरै संक्रमित होम आइसोलेसनमा छन् । उनीहरूले सावधानी पूर्ण रूपमा अपनाउन सकेका छैनन् । सात प्रदेश र काठमाडौँमा होल्डिङ सेन्टर बनाउने भनिए पनि अहिलेसम्म बनेको छैन । त्यो जिम्मा सेनालाई दिइएको छ । संक्रमित होम आइसोलेसन वा अस्पतालमा बस्न सम्भव नहुँदा होल्डिङ सेन्टरमा राख्न सकिने भनिएको थियो । पूर्व तयारीका कुनै पनि काम नगरी प्रधानमन्त्रीले सीएनएनसँगै निकै फुर्ती लगाए ।
सामान्य मानवीय धर्म समेत बिर्सिए
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आफ्नो बचाउ गर्नु र आम नागरिकको बेइज्जत गर्नु कुनै आश्चर्य नभएको बताउँछन्, नागरिक अगुवा सुन्दर मणि दीक्षित । उनका अनुसार केपी ओलीको कार्यकारी हैसियत भएको भए नैतिकताको प्रश्न उठाउने ठाउँ हुन्थ्यो । कुनै पनि हैसियत नभएका व्यक्तिले त्यसो भन्नु नौलो होइन । तर, उनले सामान्य भन्दा सामान्य मानवीय धर्म बिर्सिएर कुरा गर्नु भनेको अचेत भएरै बोलेको भन्ने ठहर्छ, दिक्षितले भने ।
यस्तै, नागरिक अभियन्ता एवं अधिवक्ता ओम प्रकाश अर्यालले हैसियतविहीन ओलीले त्यसो भन्नुमा कुनै अचम्म मान्नु पर्दैन, भने । अर्यालले अगाडि थपे, ‘सीएनएनले नैतिक धरातल गुमाइसकेका प्रधानमन्त्रीलाई किन महत्त्व दियो भन्ने कुरा चाहिँ आश्चर्य हो । उसले क्रस गर्न सक्थ्यो ओलीलाई । तर, यसरी महत्त्व दिन जरुरी देखिएन ।’