arrow

एमाले औपचारिक फुट नजिक, ओलीलाई नेपाल पक्षले दिएको अल्टिमेटम सकियो

अलग पार्टीको तयारीमा रहेका नेपाल पक्षसँग संवादको औचित्य सकिएको ओलीको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
OLI-Nepal-ncp.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधवकुमार नेपाल पक्षले विवाद समाधान गर्न दिएको समय सकिए लगत्तै पार्टी एक हुने संभावना करिब करिब अन्त्य भएको छ । सोमबार बिहान ९ बजेसम्म कुनैपनि प्रकारको संवाद हुन नसकेपछि नेता नेपाल पक्षका सांसदहरुले राजीनामा बुझाउने र समानान्तर पार्टी निर्माणलाई तिब्रता दिने तयारी भएपछि पार्टी एक हुने संभावना अन्त्य भएको हो । नेपाल पक्षले दुई बुँदे माग पूरा गर्न दिएको समयसीमा समाप्त भएसँगै उनीहरु आन्तरिक छलफलमा जुटेका थिए । 

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो । 

नेता योगेश भट्टराईले दुई बुँदामा प्रधानमन्त्रीले प्रतिवद्धता जनाए सोमबार हुने संसद्को बैठकमा विश्वासको मतका प्रस्तावमा उभिने नभए साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिने जनाएका थिए । 

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । प्रधानमन्त्री ओलीले आइतबार नै कडा विज्ञप्ति जारी गरेर नेपालको व्यक्तिगत कुण्ठा र इर्ष्यामा नलाग्न सांसदहरुलाई आग्रह गरेका थिए । 

आइतबार दिउँसो नेपालसँग सुवास नेम्वाङ र विष्णु पौडेलको कुराकानी सकिने बित्तिकै ओलीले वक्तव्य जारी गरेर सामूहिक राजीनामा दिने काम अपराध भएको बताएका थिए । उनले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखापाखा नगर्ने र सामूहिक राजीनामा वैयक्तिक स्वार्थ र अहंकारको सिकार मात्रै भएको उल्लेख गरे। 

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्’, भन्ने उल्लेख थियो । 

सो विज्ञप्तिपछि बसेको नेपाल पक्षको सांसदहरुको बैठकले सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर ओली पक्षले अब संवादको औचित्य सकिएको जनाउँदै पार्टी विभाजन गर्न लागिसकेको र आफूहरुसँग संवादको नौटंकी मात्रै गरेकाले परिस्थिति अर्को बनिसकेको दावी  गरेको छ । 

नेता नेपालले पनि मध्यराति ओलीका नाममा पत्र लेखेर ओलीले वार्ताको नाममा नक्कली काम गर्न खोजेको आरोप लगाएका छन् । नेम्वाङ र पौडेल बालुवाटार नपुग्दै ओलीको विज्ञप्ति आएपछि आक्रोसित भएका नेपालले पनि मध्यराति ओलीका नाममा पत्र लेखेर वार्ताको नक्कली ढोङ्ग गरेको आरोप लगाएका हुन् । 

‘तपाईंले वार्ता गर्ने वा पार्टी एकता गर्ने भनी आफूनिकट व्यक्तिहरूलाई खटाएझैँ गर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार र विद्वेषपूर्ण वक्तव्यबाट छर्लंग हुन्छ,’ नेपालले पत्रमा लेखेका छन्, ‘वक्तव्यमा तपाईले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीतिविरोधी क्रियाकलापहरूमा पर्दा हाल्न अरूमाथि प्रहार गर्नुभएको छ ।’ 

नेपालले पार्टी र लोकतन्त्रको लागि सांसद पद त्याग गर्न सक्ने भन्दै एकता कायम राख्न कम्तीमा ६ वटा शर्त पूरा गर्नुपर्ने जनाएका थिए । नेता नेपालले जेठ २, ०७५ को स्थितिमा पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनालाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने, महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गर्न २८ फागुनमा भएको निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णय खारेज गर्ने, पार्टीलाई विधि, विधान र पद्धतिअनुरूप सञ्चालन गर्ने, पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्या तथा एक–अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवं समस्याबारे समीक्षा गरी आवश्यक निर्णय गर्ने, सरकार र पार्टीबीच समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम तथा देश तथा जनताको हित, अपेक्षा र आवश्यकताअनुसार अघि बढ्ने, यथासमयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने शर्तका रुपमा अघि सारेको भएपनि ओलीले अब त्यस्ता शर्तको कुनै काम नहुने बताइसकेका छन् । 

नेपाल पक्षका सांसद झपट रावलले आफूहरुले दिएको अल्टिमेल्मको अध्यक्ष ओलीले नजरअन्दाज गरेको बताए । उनले भने, ‘अहिलेसम्म कुनै रेस्पोन्स छैन अबको बाटो राजीनामा नै हो जस्तो छ हामी बैठक बसिरहेका छौ ।’

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा नेपालका त्यस्ता शर्त पूरा नहुने धारणा सार्वजनिक गरेका छन् ।

 ‘निकै राति माधव नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटो लाग्ने नै पो भन्नुभएछ ! प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको देखियो । राजनीति गर्नु राम्रो तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदन’, प्रधानमन्त्रीका सल्लाहकार थापाले भनेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ