arrow

सांसद राजीनामाको राजनीति

सांसदबाट राजीनामा गर्न नेपालले देउवासँग राखे सर्त, खोजे चुनावसम्म गठबन्धनको प्रत्याभूति

उपनिर्वाचनमा काँग्रेस र माओवादीले सहयोग गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
sher-deuba-madhav-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्नका लागि आगामी निर्वाचन सम्मकै गठबन्धनको ग्यारेन्टी खोजेका छन् । नयाँ सरकार बन्ने क्रममा खनाल–नेपाल समूहले नयाँ पार्टी बनाउने तथा त्यस पार्टीका लागि काँग्रेस माओवादी केन्द्रले सहयोग गर्ने र अहिलेको उपनिर्वाचनमा पनि संयुक्त उम्मेदवार बनाउँदा खनाल नेपाल समूहकै नेताहरूलाई सहयोग गर्ने ग्यारेन्टी खोजेका हुन्।

खनाल–नेपाल समूहका नेताहरूले राजीनामा दिने भएपछि जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पुर्‍याउने बाटो खुल्नेछ र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्थापन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि खनाल–नेपाल समूहको अनिवार्य जस्तै भएको छI 

मङ्गलवार साँझ देउवा निवास पुगेर नेपाल र भीम रावलले यसको ग्यारेन्टी चाहेका थिए। नेपालले सो ग्यारेन्टी भए राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्ने वचन दिएको स्रोतले जनाएको छ । खनाल–नेपाल समूहलाई बालुवाटारले आजसम्म कुनै संवाद गर्ने तयारी समेत गरेको छैन । प्रधानमन्त्री ओली आफै बहुमतको सरकार गठन गर्ने तयारी गरेको र नेपाल समूहलाई समेट्न वा पार्टीको विवाद मिलाउने विषयमा कुनै पनि प्रकारको संवाद नगरेका कारण नेपाल समूहले आत्मसमर्पण नगर्ने जनाइसकेका छन् । घनश्याम भुसालले त कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताइसकेका छन् ।

खनाल नेपाल समूहभित्र पनि काँग्रेस र माओवादीले उपनिर्वाचनमा सहयोग गरे पनि आम निर्वाचनमा सहयोग गर्न कठिन रहेकाले तत्काल राजीनामा दिएर फस्न नहुने तर्क पनि रहेको छ । विगत एक हप्तादेखि काँग्रेसले आम निर्वाचनमा सहयोग गर्ने ग्यारेन्टी गर्नुपर्ने र त्यसका लागि माधव नेपालले जिम्मेवारी लिनुपर्ने बहस चल्दै आएको थियो । त्यस विषयमा खनाल–नेपाल समूहमा अहिले ‘कन्फूजन’ रहेको स्रोतको दाबी छ । तर काँग्रेस सभापति शेरबहादुर देउवाले दुवै निर्वाचनमा सहयोग गर्ने बचन दिएका छन् ।

‘काँग्रेस आफै बहुमत ल्याउन अवस्थामा रहेको र खनाल–नेपाल तथा माओवादी केन्द्रलाई सहयोग गर्ने विषयमा काङ्ग्रेसभित्रै विवाद हुने र त्यहाँबाट पनि बागी उम्मेदवार हुने सम्भावना पनि नकार्न सकिँदैन किनभने विगतमा पनि काँग्रेसको बागी काँग्रेस नै थिए’, नेपाल पक्षका एक सांसदले भने ।

ती सांसदका अनुसार कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा दिनुपर्ने त्यसो हुँदा सरकारमा काँग्रेस र माओवादी जाने तथा खनाल नेपाल पक्षले नयाँ दल गठन गर्नुपर्ने हुन्छ ।

‘जति गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् सरकारमा हुँदा । उनलाई एमाले र कम्युनिस्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति झन् दम्भ बढ्न थाल्यो त्यस कारण हाम्रो राजीनामाले वैकल्पिक सरकार निर्माण हुन्छ भने हामीलाई राजीनामा गर्न कुनै आपत्ति छैन’, ती सांसदले भने ।

सोमबार अर्थात् वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा खनाल–नेपाल पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यस दिन उनीहरूले राजीनामा नगर्ने बरु संसद्मा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसदहरूले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दाबी पेस गर्न समय दिएकी थिइन् ।

राष्ट्रपतिले दिएको समय सीमा वैशाख ३० गते राति ९ बजे सकिँदै छ । वैशाख २७ गतेकै संसद् बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको विकल्पमा नयाँ सरकार गठन गर्ने प्रस्ताव गरेका थिए भने देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाएका थिए ।

तर, ओलीको विकल्पमा नयाँ सरकार बनाउन संसद्मा काँग्रेस, माओवादी र जनता समाजवादीको बाबुराम–उपेन्द्र पक्ष मात्रैबाट सम्भव नभएपछि खनाल–नेपाल पक्षको साथ खोजेको थियो । त्यसमा पनि खनाल नेपाल पक्षले साथ दिन तयार रहेको तर उपनिर्वाचनसहित आउने आम निर्वाचनमा पनि गठबन्धन कायम हुने गरी साथ सहयोगको ग्यारेन्टी खोजेको स्रोतको दाबी छ । काँग्रेस र माओवादीले त्यस प्रकारको साथ दिने  ग्यारेन्टी भए खनाल–नेपाल पक्षका सांसदहरूले राजीनामा दिने भएका छन् ।

नेपाल स्वयंले पनि आफ्ना सांसदहरूलाई बिचमै अलपत्र पारेर नछाड्ने ग्यारेन्टी दिएको स्रोतको दाबी छ । बुधवार बसेको माधव–झलनाथ पक्षको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन केपी ओली लागिरहेको ठहर गर्दै ओलीको विस्थापनका लागि निकास दिन जरुरी रहेकाले कठोर निर्णय गर्न बाध्य हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

‘हामीले अन्तिमसम्म ओलीलाई २०७५ जेठ २ मा फर्कन समय दियौँ, तर, उहाँले मान्नुभएन । हामीले देशभर सङ्गठन बनाएका छौँ अबको बाटो ओली सच्चिने कि हामीले अर्को दल खोल्ने भन्ने नै हो’, एक स्थायी कमिटी सदस्यले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ