एजेन्सी । अफगानिस्तानको राजधानी काबुल बाहिर तालिवानले गराएको आत्मघाती आक्रमणमा ३० जनाकाे मृत्यु भएकाे छ । विष्फोटमा परी ५० बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा नेपाली पनि परेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेपनि नेपाली परेको जानकारी अहिले सम्म नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयल प्रवक्ताको कार्यालयका प्रवक्ता भरतराज पौड्यालले हाल सम्म नेपाली परेको भन्ने जानकारी नआएको बताए । उनले भने, ‘अहिले सम्म जति सुचना म कहाँ आएको छ त्यसमा सबै अफगानी परेको भन्ने छ । नेपाली परेकोबारे जानकारी आएको छैन ।’ पछि यसबारे केही जानकारी आउला ।
परराष्ट्रमन्त्री कमल थापाले समेत कुनै जानकारी नभएकाे हाम्राकुरालाई बताए । एक साता अघि मात्रै काबुलमा भएको आक्रमणमा १३ नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
विहिबार भएकाे आक्रमणमा मृत्यु हुने बढी सुरक्षाकमर्मी छन् । बीबीसीका अनुसार ग्राजुएट्स कार्यक्रमबाट फर्कंदै गरेको प्रहरी प्रशिक्षार्थीलाई लक्षित गरेर काबुलको पश्चिमी बाहिरी क्षेत्रमा दुई वटा आत्मघाती बम विष्फोट गराइएको थियो । पुलिस एकेडेमीको बसमा आक्रमण भएको हो । प्रहरी प्रशिक्षार्थीकाे जत्था वारदाक प्रान्तबाट काबुलको ओर गइरहेको पघमानका जिल्ला गर्भनर हाजी मोहम्मद मूसा खानले बताएका छन् ।