arrow

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक भूकम्पको धक्का

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
earthquake.jpg.jpeg
बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ । आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्टरको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ रिक्टर स्केलको तेस्रो धक्का तथा बाँकी दुई वटा साना धक्का गएका थिए । 
 
बुधबार १६ पटक र आज बिहीबार पाँच पटक गरी २१ पटक धक्का गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकारी दिए  । उनले भने , “बुधबार २ बजेर ५५ मिनेटदेखि आज मध्याह्न १२ बजेर ७ मिनेटसम्म २१ वटा धक्का गएका हुन् ।” बुधबार पहिलो धक्का २ बजेर ५५ मिनेटमा पाँच रिक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४.२ रिक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३.८ रिक्टर स्केलको, ३ बजेर २९ मिनेटमा ३.६ रिक्टर स्केलको र साँझ ५ बजेर ५१ मिनेटमा २.८ रिक्टर स्केल लगायत १६ पटकसम्म गएको हो । 
 
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘गोरखा भूकम्प’पछि देशभरि नै ससाना धक्का महसुस भइरहेकाले यसमा डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने – “पाँच रिक्टर स्केलको भूकम्प गएपछि त्योभन्दा साना धक्का जाँदै गरेको र कम्पन पनि कम हुँदै गएकाले डराउनुपर्ने अवस्था छैन ।” 
 
यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भए पनि डराउनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कुनै क्षति नभएको र अझै पनि क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए । लगातारको धक्काले स्थानीय बासिन्दा त्रसित बनेका छन् । भू कम्प जहिले पनि र जति बेला जान सक्ने भएकाले पूर्वतयारीका साथ बस्न स्थानीय प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ