काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण योगदान गरेको स्मरण गरेका छन् ।
जिपी कोइराला फाउन्डेसनले गिरीजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा गरेको ‘नेपालको लोकतान्त्रिकरणमा गिरिजाप्रसाद कोइरालाको योगदान तथा संविधान कार्यान्वयन’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्रीले देश, जनता र लोकतन्त्रका लागि कहिल्यै भाँजो नहालेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘मजदुर आन्दोलन, भारतमा भएको स्वतन्त्रताको आन्दोलन, राजनीतिक दलको गठन, आन्दोलन, परिवर्तनमा कोइरालाको ठूलो योगदान रहेको छ ।’ प्रधानमन्त्री ओलीले कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफैँ आन्दोलनको आँधी बेहरीमा होमिएर त्यसलाई कुन दिशामा अगाडि बढाउँला राम्रो हुन्छ भन्ने बारेमा ठूलो भूमिका खेलेको स्पष्ट पारे ।
जतिबेला राष्ट्र सङ्कटमा पर्छ त्यतिबेला आफ्नो विचारको बलले शान्तिलाई सही मार्गमा फर्काउन कोइरालाले ठूलो भूमिका खेलेको प्रधानमन्त्रीले सुनाए । ‘संविधान निर्माण गर्ने ठूलो इच्छा कोइरालामा रहेपनि उहाँ बितेर जानुभयो । अहिले मुलुकले संविधान पाएको छ, यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुनु आवश्यक छ’–प्रधानमन्त्री ओलीले भने ।
क्रान्ति र शान्तिको नेताः पौडेल
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिवंगत कोइराला क्रान्ति र शान्तिका नेता भएको बताए । पौडेलले भने, ‘गिरिजाबाबुले राजनीतिमा कहिल्यै विश्राम लिनुभएन ।”
नेता पौडेलले नेपालको राजनीतिमा नेपाली काँग्रेसको सिद्धान्तको विकास हुँदै गएपनि पार्टी पराजित हुँदै गएकामा दुःख व्यक्त गरे । उनले नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा कोइरालाको ठूलो भूमिका रहेको स्पष्ट पारे ।
नेता पौडेलले सरकारले वार्ताको वातावरण बनाएर आन्दोलनरत मधेसी मोर्चाका मागलाई समेट्नुपर्नेमा जोड दिए । उनले भने, ‘संविधान निर्माणसँगै प्राप्त अधिकारलाई गुमाउन नदिन छलफल र वार्ता आवश्यक छ ।’ उनले स्थानीय निकायको निर्वाचन गराउन गाउँपालिका, नगरपालिका र जिल्लाको संरचना बनाएर अगाडि बढ्नु जरुरी रहेको औँल्याए ।
साहसी र दृढसङ्कल्पित नेताः गच्छदार
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कोइराला साहसी र दृढसङ्कल्पित नेता भएको बताए । उहाँले कोइराला नभएको भए नेपालको लोकतान्त्रिक आन्दोलन सफल नहुने स्पष्ट पारे ।
उपप्रधानमन्त्री गच्छदारले भने, ‘मुलुकमा राजनीति स्थिरता अहिलेसम्म पनि पूरा भएको छैन, यसलाई पूरा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।’ गच्छदारले मुलुकको प्रजातन्त्रलाई बलियो बनाउन उपेन्द्र यादवसँग पार्टी विभाजन गरेको स्पष्ट पारे ।
फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीति विकासमा गिरिजाबाबुले खेल्नुभएको भूमिका अतुलनीय रहेको बताइन् । कोइरालले भनिन्, ‘मुलुकमा संविधान निर्माण भएको छ, यसलाई कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्छ ।’
कार्यक्रममा राम थपलियाले गिरीजाप्रसाद कोइरालाको व्यक्तित्वसम्बन्धी तयार पारिएको वृत्तचित्र प्रस्तुत गरे ।