- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालको सबैभन्दा ठुलो औद्योगिक घरानियाँ चौधरी फाउन्डेसनले कोरोना महामारीबाट लड्नका लागि अस्पतालमा आइसियु वार्ड र अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ। फाउन्डेसनले कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य सङ्कटमा प्रभावकारी योगदान पुर्याउन नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्त्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय गरेको हो।
फाउन्डेसनले भनेको छ, ‘हामी यी निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छौँ।’ फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियु वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ। वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आइसियु वार्ड स्थापना गरिने फाउन्डेसनले जनाएको छ। वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने पनि फाउन्डेसनले जनाएको छ। यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुने भएको छ।
त्यसै गरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गरिने छ। यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको छ।
वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहने फाउन्डेसनले जनाएको छ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने छ।
अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने उल्लेख गरेको छ। अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न आफूहरूको टिम अहोरात्र खटिएको पनि फाउन्डेसनले जानकारी दिएको छ।
फाउन्डेसनले भनेको छ, ‘हामीलाई विश्वास छ कि हामी केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुनेछौँ।’
धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन्। त्यसै गरी फाउन्डेसनले प्रतिबद्धता गर्दै भनेको छ, ‘यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छौँ।’
यी कन्सन्ट्रेसनहरू काठमाडौँ र बाहिरका अस्पतालहरूमा वितरण गरिने पनि जनाइएको छ। आपत्कालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान फाउन्डेसनको छ।
चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपत्कालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताएका छन्।
‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो। यसका लागि आइसियु वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्त्वपूर्ण स्वास्थ्य उपकरण हुन्’ उहाँले भने, ‘हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ। हामी यही उद्देश्यका साथ कोरोना विरुद्धको अभियानमा अगाडि बढेका छौँ।’
चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो। साथै देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो। फाउन्डेसनले केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजार थान पीसीआर रिएजेन्टसमेत उपलब्ध गराएको थियो।
चौधरी ग्रुपले हरेक विपद्मा जनताको साथमा रहेर उनीहरूको पीडामा साथ दिँदै आएको इतिहास छ। २०७२ सालको महाभूकम्पपश्चात् चौधरी फाउन्डेसन भूकम्पबाट घरबारविहीन बनेका २५ सय भन्दा बढी परिवारका लागि आवास र ५० भन्दा बढी विद्यालय निर्माणमा सहभागी बनेको थियो।