काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने तय भएको महाधिवेशन हुनेमा शंका उब्जिएको छ । पटक पटक मिति तोकेर पनि स्थगित भएको नेविसंघको महाधिवेशनमा पार्टीले नै चासो राखे पनि सफल हुनेमा आशावादी हुन सक्ने ठाउँ नरहेको नेविसंघकै नेताहरू बताउँछन्।
पार्टीले नेविसंघमा देखिएको विवाद मिलाएर महाधिवेशन गराउन डा. प्रकाशशरण महतको नेतृत्वलाई जिम्मा दिए पनि सो समितिमा महतले अन्य पदाधिकारीसमेत थप्न सकेका छैनन् । उनले हाम्रा कुराको जिज्ञासामा भने –‘मैले विवाद समाधान गर्न बनेको नेविसंघकै सात सदस्यीय समितिलाई छिट्टै विवाद समाधान गरेर जिल्ला प्रतिनिधिहरू छनोट गर्न भनेको छु । उहाँहरू लागिरहनु भएको छ । सम्भवतः छिट्टै समाधान हुन्छ ।’
डा. महतले छिट्टै समाधान हुन्छ भने पनि लामो समयदेखि जारी विवाद सजिलै समाधान हुने देखिंदैन । नेविसंघका अध्यक्ष रंजित कर्णको नेतृत्वमा बनेको सो समितिले ६४ जिल्लामा प्रतिनिधिहरू चयन भइसकेको बताएको छ । केन्द्रीय सदस्य ऋषिकेश शाहसमेत सदस्य रहेको सो समितिले जतिसुकै दावी गरे पनि अध्यक्ष कर्णको हालीमुहालीप्रति रूष्ट बनेको अर्को पक्षले भने ४१ जिल्लामामात्र विवाद समाधान भएको जनाएको छ ।
केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले ४१ जिल्लाकोमात्र समाधान भएको जनाउँदै आफूहरू विधिवत् महाधिवेशन होस् भन्ने पक्षमा रहेको बताए । विधि र विधान बमोजिम साउनमै महाधिवेशन हुने संभावना सकिदै गएको उनको भनाइ छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको कार्यसमितिलाई भङ्ग गरेर ०६६ सालमा रंजित कर्णको नेतृत्वमा चुनावका लागि नेविसंघको तदर्थ समिति गठन भएको थियो । तर अहिलेसम्म त्यही तदर्थ समितिले नै काम गरिरहेको छ।
यसपटक जसरी पनि महाधिवेशन गराउन काँग्रेस सभापति शेरबहादुर देउवा पनि लागेका छन् । तर जसरी सभापति जितेपछि महाधिवेश गराृउने वाचा गरेका थिए त्यसरी नै स्वयं देउवा लागेको पाइँदैन । डा. प्रकाशशरण महत भने पटक पटक नेविसंघको महाधिवेशन रोकिएर पार्टीलाई अप्ठेरो परेको भन्दै यसपटक जसरी पनि महाधिवेश हुनुपर्नेमा जोड दिन्छन्।
महाधिवेशन साउनको २३ देखि २५ सम्म काठमाडौंमै हुनसक्ने आधार भने नेता महतसंग पनि छैन । उनी भन्छन् –‘विवाद समाधान समितिले समाधान गरेर प्रतिनिधि चयन हुनासाथ महाधिवेशन हुन्छ । त्यो विवाद भने मिल्नुपर्छ्, मिलाउनु पर्छ ।’ अधिवेशन गरेर वा सहमति गरेर समस्याको समाधान हुनेमा नेता महत ढुक्क छन् । तर ठोकुवा नै गरेर साउनमा महाधिवेशन हुनेमा भने उनी पनि सशंकित बन्दै गएका छन्।
विवाद मिल्नुपर्छ भनिए पनि मिल्ने सम्भावना भने कम हुँदै गएको छ। एकातिर महाधिवेशन आउन एक महिनामात्र बाँकी छ। अर्कातिर आधा जति जिल्लाको समस्या समाधान हुन बाँकी नै छ। कर्ण पक्ष भने पेलेरै जाने पक्षमा रहेको छ । यो पक्षको ठोकुवा छ कि आफूहरूको खेमाका प्रतिनिधि चुनिन सकेनन् भनेर महाधिवेशन नै भाँड्न खोज्नु राम्रा होइन।
विवाद मिलेको संकेत भने कतैबाट पनि पाइँदैन। काँग्रेसको एक खेमा भने सर्वसम्मत टिका लगाइदिने पक्षमा रहेको छ । यो खेमाबारे बोल्दै असन्तुष्टमध्येका एक बलदेव तिमल्सिनाले भने –‘अब पनि टिका लगाएर समाधान गर्छौं भनेर सोच्नु मूर्खता हो । हामी यो कदापि हुन दिन्नौं ।’
मुलुकको सबैभन्दा प्रजातान्त्रिक पार्टी काँग्रेस हो। तर यही पार्टीमा देखिएको यो गैरजिम्मेवारीपनले भने दलहरूको अभ्यास गलत भएको स्पष्ट पार्छ।
नेपाली काँग्रेसकै महाधिवेशन गत फागुनमा भएको थियो । अझै चार जिल्ला र एक क्षेत्रको निर्वाचन भएको छैन । कार्यसमिति पनि पूरा गर्न सकेको छैन। काँग्रेसी असन्तुष्ट खेमाले भन्न थालेको छ जब माउनै असफल छ भने भ्रातृबाट के अपेक्षा गर्नु !