arrow

पत्रकार सम्मेलनमा प्रम ओलीले के भने ?

logo
प्रकाश सिलवाल,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
oli-cabinets-.jpg

काठमाडौँ। ‘तपाईँहरू मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस्। अर्को उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ।’ देशमा कोभिड–१९ को महामारी नियन्त्रण, नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने जटिल समय भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको स्पष्ट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष ओलीले आज बिहान आफूले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर उक्त आग्रह गरेको जनाए। उपप्रधानमन्त्री एवं पार्टीका महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहितको पत्रकार सम्मेलनमा उनले नयाँ सरकार दिन नसक्ने, आफूलाई समर्थन पनि नगर्ने तर अहिलेको सरकारलाई ढाल्नुपर्ने भए विपक्षीलाई एकजुट भएर प्रस्तुत हुने बाटो आफूले खोलिदिएको स्पष्ट गरे।

प्रधानमन्त्री र ठुलो दलको नेताका हैसियतले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि सहमति र विकल्पका लागि आज बिहान पनि टेलिफोन गरेको स्पष्ट गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिई आह्वान गर्नुभएको भोलिपल्ट प्रधानमन्त्री ओलीले त्यसबारे उठेका चासोलाई सम्बोधन गरेका हुन्।

उनले नयाँ प्रक्रियामा जानु पूर्व प्रधानमन्त्रीले राजीनामा गर्नपर्छ भन्ने संविधानमा कतै उल्लेख नभएको जनाउँदै उनले अरूलाई विकल्प दिएर हात उठाउनु नै पर्याप्त भएको स्पष्ट गरे। ‘म सहमतिका लागि कुरा गर्न चाहन्छु, उहाँहरू उत्तर–दक्षिण गरिरहनुभएको छ। साथीहरू मलाई लखेटिरहनुहुन्छ, अरू विकल्पमा जाऔँ, निर्वाचनतर्फ नधकेलौँ भन्छु तर विकल्प नदिने हो भने निर्वाचनमा देश गएमा आकाश खस्दैन। यो संवैधानिक प्रक्रिया हो। स्वतन्त्र निष्पक्ष निर्वाचनबाट जनताको ताजा मतादेश आउँछ। लोकतन्त्रमा निर्वाचनबाट भागेर हामी कहीँ पुग्न सक्दैनौँ । नियमित रुपमा पनि एक वर्षपछि निर्वाचन गर्नपर्छ।’

प्रधानमन्त्री ओलीले एमालेभित्रबाट अनुशासनहीन रूपमा अलोकतान्त्रिक ढङ्गले आफ्नो दलको सरकार ढाल्ने र विपक्षीको नेतृत्वमा सरकार बनाउने प्रयास भएको र आफ्नै दलको सरकारलाई विश्वास प्राप्त नहोस् भनेर आपराधिक प्रकारका काम पनि भएको टिप्पणी गरे। उनले गत वैशाख २७ गते आफूले प्रतिनिधिसभामा विश्वासको मत लिन जाँदा पारित नहुने प्रस्ताव ल्याएर नाटक गरेको भनिएको र यो सरकारलाई विश्वासको मत लिने नैतिक हिसाबले पनि छैन भनी आरोप लगाइएको स्मरण गराउँदै त्यसपछि दुई वा दुईभन्दा बढी दलले ७६ (२) बमोजिमको सरकार बन्न तीन दिनको समय दिँदा बन्न नसकेपछि आफूले नचाहेर पनि ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त भएको स्पष्ट गरे।

‘यसरी समयले च्यापेका बेला फेरि विश्वासको मततिर जानुभन्दा मार्ग प्रशस्त गर्नु संवैधानिक र राजनीतिक रूपमा उपयुक्त छ। यसमा षड्यन्त्र कहाँ भयो ? दलहरू मिलेर नयाँ सरकार बनाउने सकेमा म स्वागत गर्छु। अरूले मलाई गरे जस्तो म सधैँको किचकिच गर्दिन, नयाँ सरकारलाई मेरो दल सहयोग गर्छ।’

उनले प्रतिप्रश्न गर्दै भने, ‘कसले विफल गर्न खोज्यो संसद् ? मलाई समर्थन गर्नुस् न त। संविधान कसले थिचोमिचो गरेको छ ? म हार्छु, मैले हात उठाएँ भन्दा पनि सुख नपाउने ? अनि गाली गरेर मात्रै हुन्छ ?’

नयाँ सरकार बनाउन संविधानबमोजिम सरकार बनाउन समय दिँदा राष्ट्रपतिमाथि किन महाभियोग  भन्ने प्रश्न गर्दै उनले सक्ने भए प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव ल्याउन पहिला पनि समय थियो भने। राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण भएको जिकिर पनि गरे। ‘मैले गरेको सिफारिसप्रति म जबाफदेही छु। राष्ट्रपतिलाई दोष नदिऔँ। संविधानको व्याख्या गर्ने सर्वोच्च अदालतले हो। मैले शपथ लिँदा प्रतिगमन हुने, कसले शपथ लिएमा क्रान्ति हुने हो?’, पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीको जवाफ थियो।

एमालेभित्रको विवादबारेको प्रश्नमा उहाँले संसदीय प्रणालीमै ‘फ्लोर क्रस’ गराउने र प्रणालीकै धज्जी उडाउने गतिविधि हुँदैनथ्यो भने २०७५ जेठ २ मा फर्कन कुनै आपत्ति नभएको स्पष्ट गर्दै त्यस्ता अनुशासनहीन गतिविधि नभएको भए एमालेभित्रको समस्या राष्ट्रिय चासोको विषय नहुने जनाए। ‘राजनीतिक हिसाबले पार्टी एकीकरण कायम छ, कानुनी समस्या आएकाले एकतापूर्वक अवस्था आएको हो।

नेकपाको सट्टामा सहमतिका आधारमा अर्को नयाँ लिएर दल दर्तामा जान केही साथीहरू चाहेनन्। एकीकरणमा आएका साथीहरूसहित एमाले नाम मन्जुर गर्नुपरेको हो। असन्तुष्ट रहेका माधवकुमार नेपालसहितका नेताहरूको अनुशासनहीन काम रोकिने स्थिति भएमा संवादबाट व्यवस्थापन गरिनेछ। होइन भने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेभित्र भएको अन्तर्घातको पनि हिसाबकिताब गरिनेछ।’

कोभिड नियन्त्रणको प्रभावकारिताबारेका प्रश्नमा प्रधानमन्त्री ओलीले मानवीय जीवनको रक्षाका सवालमा सबै देशले गरेका प्रयास र उपलब्धि सबै देशको हुने भएकाले थप मात्राको खोप ल्याउन छिमेकी भारत र चीनसहित संयुक्त राज्य अमेरिका, बेलायतलगायत अन्य मुलुकसँग उच्चस्तरमा संवाद भइरहेको जानकारी दिए। उनले आवश्यकता परेमा स्वास्थ्य मापदण्ड अपनाएर महामारी कायम रहेमा पनि निर्वाचन गर्न सकिने उदाहरण विश्वका अन्य मुलुकबाट पनि प्राप्त भइसकेको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ