काठमाडौं । देशभर मौसममा पूर्ण वदली आएको छ । विहिबार राति देखि प्रायः देशका सबै भू–भागमा वर्षा भएको छ । दुई तीन दिन मौसममा वदली नै रहने भएकाले सम्भावित बाढी पहिरोको क्षतिबाट बच्न सतर्क रहनु पर्ने मौसमविद्हरुले बताएका छन् ।
नियमित मौसमको समाचार सुन्न र सामान्य त मौसम वदली हुने वित्तिकै जोखिम क्षेत्रका स्थानीयले सुरक्षित उपाय अपनाइहाल्नु पर्ने मौसमविद्हरुको सुझाव छ । शुक्रबार पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
मौसमविद् शान्ति कडेंलका अनुसार शनिबार मध्य क्षेत्रमा समेत भारी वर्षाको सम्भावना छ । उनले हाम्राकुरासंग भनिन्,‘यस बदलीकाबीचमा लगातार वर्षा नभएपनि केही समय रोकिने र फेरि वर्षा हुने क्रम चल्ने छ । वर्षाको सम्भावना वढी नै छ । शुक्रबार देशभर वर्षा भएको छ ।’ भारी वर्षाले मात्रै पहिरो जाने नभई सानो पानीले पनि पहिरो जान सक्ने भएकाले जोखिम क्षेत्रका नागरिले सचेत रहनु पर्ने मौसमविद् कडेंलको भनाई छ ।
भूकम्पले थिलथिलो भएका क्षेत्रमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सबैले मौसमको अवस्थाबारे जान्न संचारमाध्यमलाई पछ्याउनु पर्ने तथा संचारमाध्यमले समेत सही सूचना सम्प्रेशण गरी जोखिम न्यूनिकरणमा सहयो गर्नु पर्ने विज्ञहरुको सुझाव छ ।
देशको तराई क्षेत्रमा डुबानको समस्या छ भने, नदीहरुमा पानीको वहाब उच्च भएको छ ।
काठमाडौंमा उच्च वर्षा
काठमाडौं उपत्यकामा विहिबार सन् १९८० को जुन महिना जस्तै उच्च वर्षा भएको छ । २४ घण्टामा परेको वर्षाको रेकर्डअनुसार काठमाडौं उपत्यकामा ९५ मिलिमिटर वर्षा भएको छ । जो १९८० मा भएको (२४ घण्टाको रेकर्ड) १००.१ मिलिमिटर वर्षाको रेकर्ड नजिक हो । त्यस समय हाल सम्मकै उच्च १००.१ मिलिमिटर वर्षा भएको थियो । यो ३६ वर्ष यताकै उच्च वर्षा भने होइन । २४ घण्टाको रेकर्ड अनुसार सन् १९८० को जुनमा भएको वर्षाको रेकर्ड नजिक मात्रै हो ।