काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा देखिएका विवादहरू मिलाउने मुख्य जिम्मेवारी पाएर गठन भएको दुइ साता बित्दा पनि कार्यदलको बैठक समेत बस्न सकेको छैन । गत असार ५ गते नेविसंघका केन्द्रीय सदस्य लीलाबल्लभ दाहाल (काका)को नेतृत्वमा बनेको ५ सदस्यीय कार्यदल आफै भित्र बिबादका कारण अहिलेसम्म बैठकसम्म पनि बस्न नसकेको हो ।
नेविसंघ भित्रको महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न जिल्ला र क्याम्पसहरूको अधिवेशनको विवाद बढेपछि अहिले निर्धारित मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा विभिन्न आशंका उब्जिन थालिसकेको छ । तर यसको विवाद मिलाउन गठित कार्यदल आफैं भित्रको सदस्यको विवादको कारण अहिलेसम्म बैठक समेत बस्न नसकेको नेविसंघ नेताहरू बताउने गरेका छन् ।
साउन ५ गतेसम्म प्रतिवेदन बुझाईसक्नुपर्ने भनेर मिति समेत तोकेर गठित कार्यदलको पहिलो बैठक आगामी आईतबार विहान साढे ८ बजे नेविसंघ केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको संयोजक काकाले जानकारी दिए । ‘नेविसंघ कमजोर बनाउन दिईन्न’ उनले भने ‘जसरी पनि विवाद मिलाएर तोकिएकै मितिमा कार्यदलले प्रतिवेदन बुझाउँछ, तपाई ढुक्क हुनुस् ।’ नेविसंघ भएजति सबैलाई केन्द्रीय प्रतिनिधि बनाउन नसकिने भन्दै विवाद नरहने गरी र कसैलाई पनि अन्याय नहुनेगरी प्रतिवेदन बुझाउने पनि उनले दाबी गरेका छन् ।
कार्यदल सदस्यमा रञ्जीत कर्णपक्षीय सदस्यहरू विष्णुदत्त जोशी, सन्तोष कट्टेल र प्रकाश महर्जन ऋषिकेश जंग शाह पक्षीय अशोक वास्ताकोटी र दुरेन राई छन् भने कुन्दनराज काफ्ले पक्षीय जीत शेरचन रहेका छन् ।
नेविसंघ स्रोतका अनुसार कार्यदलको बैठक र यसको आगामी कार्यको विषयमा नै आन्तरिक विवाद सुरू भएपछि अहिलेसम्म बैठक बस्न नसकेको हो । कार्यदललाई केन्द्रीय समितिले अधिवेशन हुन बाँकी भनेको ११ जिल्ला विभिन्न क्याम्पस तथा विश्वविद्यालयको विवाद मिलाउने र अधिवेशनको लागि मार्ग प्रशस्त गर्ने कार्य तोकिएको छ ।