arrow

सीइओ भावनाले गरिन् नेपाल क्रिकेट संघ छोड्ने घोषणा

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
Bhawana-Ghimire.jpg.jpeg
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान प्रमुख कार्यकारी अधिकृत (सीइओ) भावना घिमिरेले पदीय जिम्मेवारीबाट बाहिरिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत बाहिरिने घोषणा गरेकी हुन् ।  
 
बिहिबार मात्रै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय सर्वसम्मत अनुमोदन गरेको थियो । स्कटल्याण्डको एडिनमा भएको साधारण सभाले अमेरिकी क्रिकेट संघ संगै नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने बोर्डको निर्णय अनुमोदन गरेको हो ।  सरकारी हस्तक्षेप भएको र सतन्त्र क्यान गठन गर्ने वातावरण बनाउन भन्दै आइसीसी बोर्डले गत अप्रिलमा क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो । 
 
भावनाले शुक्रबार साँझ तीनवटा ट्वीट गर्दै क्रिकेट संघको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी गराइन् । ‘करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपुर्ण छ । सबै स्टेकहोल्डरहरु एकजुटभइ निकास निकाल्न अपिल गर्दछु,’ उनले ट्वीटमा भनेकी छन् । 
अर्को ट्वीटमा उनले लेखेकी छन्, ‘हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई वढि योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो ।’ यद्यपि, यसबारे नयाँ तदर्थ समिति गठन गरिदिने राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी छैन ।
 
राखेप सदस्य सचिव केशव कुमार विष्टले हाम्राकुरासंग भने, ‘ए उहाँले त्यस्तो निर्णय गरेकोबारे जानकारी छैन । हिजो कुरा हुँदा उहाले त्यस्तो छोड्ने कुरा गर्नु भएको थिएन । बरु मैले तलब पाइरहनु भएको छ भनेर सोध्दा वातावरण राम्रो भएन सम्म भन्नु भएको थियो ।’ बाहिरिनेबारे कुनै कुरा भएको थिएन । 
 
राखेपले चतुरबहादुर चन्द पक्षले गरेको साधारण सभा वैधानिक नभएको भन्दै क्यानको तदर्थ समिति गठन गरेपछि विवाद चरम उत्कर्समा पुगेको थियो । निर्वाचित चन्द पक्षले सर्वोच्चमा तदर्थ समिति गठनविरुद्ध मुद्दा दर्ता गरेपछि क्यान विवाद झन् गहिरियो र अन्ततः आइसीसीले निलम्बन गरिदियो । भावनाको सोही तदर्थ समितिसंग समन्वय गर्ने गरी करार थप भएको बुझिएको छ । 
 
भावना जीसंगको हाम्रो सम्बन्ध त पहिल्यै सकिसकेको थियो : प्याकुर्‌याल
क्यानको तदर्थ समिति निलम्बन भएको र आफुहरु आधिकारी भएको बताउने चन्द पक्षले भावनासंगको सम्बन्ध आफुहरु निर्वाचित भएलगत्तै सकिएको बताएको छ । चन्द पक्षीय क्यान महासचिव अशोकनाथ प्याकुर्‌यालले भने, ‘हामी निर्वाचित भएर आउँदा उहाँको करार सकिएको थियो । हामीले करार रिन्यू नगरेपछि उहाँको अवधि स्वतः सकिएको थियो ।
 
पछि तदर्थ समिति बनाउनेहरुले १ वर्षका लागि थपेको भन्ने सुनेको छु ।’ उहाँसंगको सम्बन्ध साधारण सभा भएपछि नै सकिएको हो नी प्याकुर्‌यालले हाँस्दै भने । नियमले उहाँको अवधि पहिले नै सकिएको हो । चन्द पक्ष र राखेपबीचको जुहारीले नेपाली क्रिकेटको भविष्य अन्योलमा परेको छ । तदर्थ समिति विरुद्ध परेको मुद्दाको पटक–पटक पेशी सर्दै आएकामा आसीसीको प्रतिनिधि मण्डल नेपाल आउने संकेत मिलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ