arrow

प्रधानमन्त्रीको सम्बोधन : अधिकांश समय आफ्नै बचाउ र दुखेसो मात्रै

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
kp-oli111-1619858602.jpg
फाइल तस्विर।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा अधिकांश समय सरकारमाथि अप्ठ्यारो पारिएको र घेरा हालिएको गुनासोमा नै बिताएका छन् । कहिले पत्रकार सम्मेलन त कहिले सम्बोधनका नाममा आफ्ना दुखेसो पोख्दै आएका प्रधानमन्त्री ओलीले आज पुनः सरकारमाथि घेराबन्दी भएको र काम नै गर्न नदिने अवस्थापछि आफूले प्रतिनिधि सभा भङ्ग गरेको दुखेसो पोखे । 

प्रधानमन्त्री ओलीले यसअघिका सम्बोधनमा सधैँ आफ्ना आन्तरिक दल भित्रको किचलोलाई मात्र प्रतिनिधि सभा विघटनको कारण देखाउँदै आएकोमा यस पटकको सम्बोधनमा आफ्ना विरुद्ध गठबन्धन बनाएर मोर्चा बन्दी गरिएकोसमेत गुनासो गर्न भ्याए । 

उनको सम्बोधनमा न कुनै नयाँ भाषा थियो न कुनै रणनीति, केवल गुनासो र दुखेसो मात्रै । यतिसम्मकी संविधानमा रहेका सबै धाराको व्यवस्था अनुसार आफूले प्रक्रिया पुर्‍याएर नयाँ सरकारका लागि मार्गप्रसस्त गर्न भन्दै राष्ट्रपति समक्ष पत्र पठाएकोसमेत उनले भन्न भ्याएका छन् । जबकि उनले विश्वासको मत प्राप्त नै गर्न सकेका थिएनन् र विश्वास पाउने स्थिति नदेखिएपछि स्थिति उस्तै रहेको भन्दै पत्र पठाएका थिए । 

तर, आजको सम्बोधनमा उनले एउटा बोली भने फेरेका छन् । आफूले विश्वासको मत पाउने अवस्था नभएपछि मार्गप्रसस्त गरेको भन्दै आएका उनले आजको सम्बोधनमा भने जनता समाजवादी पार्टीले संस्थागत निर्णय गरेर पत्र दिएपछि पुनः प्रधानमन्त्रीमा दाबी पेश गरेको बताएका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएकै दिन प्रधानमन्त्री ओलीले रुन्चे स्वरमा अदालतमा विचाराधीन विषयमाथि फेरी गुनासो गर्दै आफ्ना विगत सुनाएका हुन् । 

उनले आजको सम्बोधनमा के नयाँ कुरा गरे त ? यो प्रश्नमा घोत्लिएर हेरौं त, उनले केवल जनताको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको मात्र भन्न भ्याए । यसैगरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मी माथिको आक्रमणलाई एउटै नजरले हेरिने र कारवाही गर्ने उनको अर्को तर्क थियो । यो बाहेक उनले आफूले गरेको प्रतिनिधि सभा विघटन पहिले पनि जायज रहेको र अहिले पनि जायज रहेको दाबी गर्न छाडेनन् । 

यही क्रममा उनले सबै राजनीतिक दलहरूलाई आफूले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आग्रह गरे भने तुइन हटाएको, खरको छानाबाट जनतालाई मुक्त गरेको तथा सडक बालबालिका देखिन छाडेको र सडकमा माग्नेहरू नभेटिने दाबी देखाए । 

कोरोना महामारीले जनता प्रताडित भइरहेको अवस्थामा  दैनिक ज्यालादारी गरेर बेलुकाको छाक टार्ने समूहका पक्षमा प्रधानमन्त्रीले नकुनै शब्द बोल्न भ्याए नकुनै आश्वासन नै दिए । बरु उनले निषेधाज्ञा काय गरेर जनताको जीवन रक्षा गरेको सुनाए । 

उनले लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको फेरी पनि सुनाउन छुटाएनन् भने राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, लोकतन्त्र सुदृढ गर्ने आफ्नो प्रयास जारी रहेको सन्देश दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ