arrow

सरकार मनपरी ढङ्गले अघि बढेको सभापति देउवाको आरोप

logo
प्रकाशित २०७३ असार १८ शनिबार
sher-deuba.jpg.jpeg
बनेपा। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि आज बनेपामा आयोजित कार्यक्रममा उनले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाएका हुन् । 
 
सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती काँग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्पपीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताए । उनले भने  – “भूकम्पपीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नुहुँदैन र भूकम्पपीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ । 
 
नेता देउवाले नेकपा (एमाले)ले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताए । उनले प्रान्तीय चुनावलगायतका विभिन्न चुनावका विषयमा समेत सरकारले कुनै तयारी नगरेको भन्दै संविधान कार्यान्वयन नभए फेरि मुलुक अप्ठेरोमा पर्ने बताए । 
 
नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी ओलीलाई भूकम्पपीडित जस्तै एक दिन पालमा बसेर अनुभव गर्न चुनौति दिइन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अस्थिर राजनीति भए पनि अर्थतन्त्र टिकेको भन्दै नेपाली काँग्रेसको दर्शनमा नै कम्युनिस्ट पार्टीहरु अघि बढेको जिकिर गरे । 
 
सो कार्यक्रममा सांसदद्वय कञ्चनचन्द्र वादे, तीर्थ लामा, पूर्व सांसद शिवप्रसाद हुमागार्इं, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, उपाध्यक्ष अच्युत पौडेललगायतले सरकारको आलोचना गर्दै भूकम्पपीडितलाई शीघ्र राहत उपलब्ध गराउन आग्रह गरेका थिए । सात आना तीन पैसा एक दाम जग्गामा रु तीन करोडको लागतमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले आफ्नो भवन निर्माण गर्न लागेको हो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ