arrow

एमाले विवाद

ओली पछाडि फर्केलान् कि नेपालले विभाजन गर्लान् ?

ओली २०७५ जेठ २ गते फर्कन तयार तर नेपाल पक्षले सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १८ मंगलबार
oli-nepal-1619092070.jpg
फाइल तस्बिर

काठमाडौँ। एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला दोस्रो तहका नेताहरूले पार्टी विभाजन रोक्ने प्रयास गरिरहेका छन्। उनीहरूको प्रयासले बाहिर कुनै परिणाम ल्याउन सकेको छैन। दोस्रो तहका नेताहरूले सोमबार गरेको प्रयासबाट प्रधानमन्त्री केपी शर्मा ओली २०७५ साल जेठ अगाडीको साङ्गठनिक संरचना फर्कन्छन् वा त्यसो नगरिए माधव कुमार नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्छन् भन्ने प्रश्न उत्तर भने दोधारमै रहेको छ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले नेता नेपाल–खनाल रिट दर्ता गर्न सर्वोच्च अदालतमा पुगेका थिए। त्यसपछि ओलीले खनाल–नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिदिए। त्यसपछि एमाले कार्यदल र कार्यदलमा सहभागी रहेका दोस्रो पुस्ताको प्रयास असफल भएको थियो। तर सर्वोच्च अदालतमा इजलास गठनमा झमेला भइरहँदा सोमबार साँझ पुनः दोस्रो पुस्ताका नेताहरूले पार्टी विभाजनलाई रोक्ने प्रयास थालेका छन्।

सोमबार राती भीम रावल र शङ्कर पोखरेलबाहेक नेताहरूले केपीलाई २०७५ जेठ २ गते फर्काउने र नेपाललाई पार्टीभित्र सम्मानजनक व्यवहार गर्न सक्ने अवस्थामा ल्याउने प्रयास गरे। त्यो प्रयासमा केपी ओली पक्षका नेताहरूले पार्टीको साङ्गठनिक संरचना २०७५ जेठ २ मा फर्काउन तयार रहेको तर नेपाल पक्षले सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको बुझिएको छ।

‘ओली २०७५ जेठ २ गते फर्कन तयार छन् तर नेपाल पक्ष आफ्नो कुरामा इमानदार छ’, स्रोतले भन्यो। स्रोतका अनुसार अहिले दुवै पक्ष अहिले ओली–नेपाललाई मनाउने प्रयासमा लागेका छन्। ‘उहाँहरू दुवैले आत्मालोचना गर्ने हो भने समस्या छैन कमिटी प्रणाली सबै मिल्छन्’, स्रोतको दाबी छ। 
सोमबार साँझ दरबारमार्ग स्थित होटेलमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर सहमति खोज्ने प्रयासमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली, नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहगामी थिए। राती अबेरसम्म भएको बैठकले उनीहरूबिच पुरानो संरचना पार्टीको वर्तमान अवस्थाको बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ।

जेठ ९ गते राती पनि प्रयासमा रहेका नेताहरू असफल भए पनि १७ गते साँझ पुनः त्यो प्रयासमा लागेका थिए। ती प्रयासका कारण नेकपा एमालेको स्थायी कमिटी बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपाल पक्षका थप नेतामाथिको कारबाही तत्कालका लागि रोकेको थियो।

सहमतिका लागि प्रयास जारी रहेको भन्दै नेपाल पक्षका १२ जनामाथिको कारबाही रोकिएको हो। एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएपछि  माधव नेपालसहित ११ नेतामाथि कारबाही र १२ सांसदलाई स्पष्टीकरण सोधिएको थियो।

जेठ ९ गते दोस्रो तहका नेताहरूले होटेल याक एन्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल पक्ष शेरबहादुर देउवालाई बोकेर प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षर गर्न गएको थियो।

दुवै पक्षका ६ जना नेताहरूले होटेल याक एन्ड यतिमा जेठ ९ गते राती चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए। उनीहरूबिच साँझ साढे ५ बजेदेखि ११ बजेसम्म भएको छलफल र गृहकार्यमा अध्यक्ष ओलीले के गर्ने र माधव नेपाल पक्षले के गर्ने भन्ने मोटामोटी ड्राफ्ट नै तयार भएको थियो।

तर, भीम रावलका कारण १० गते आइपुग्दा उक्त ड्राफ्ट काम नलाग्ने अवस्थामा पुग्यो। रावलले नेपाललाई ओलीले अलमल्याउन खोजेको भन्ने रिपोर्टिङ गरेपछि ९ गते रातीसम्मको यो प्रयास असफल भएको थियो।

त्यसपछि नेपालले देउवालाई समर्थन गर्न पुगेका थिए। तर सोमबारको संवाद भने दुवै पक्षले गोप्य राख्ने र ओली र नेपाललाई एक कदम पछाडि फर्काएर भए पनि मनाउने प्रयासमा लागेको स्रोतको दाबी छ। सोमबारको संवाद सकारात्मक भएकै कारण स्थायी कमिटी बैठक बस्नु अघि १७ गते (सोमबार) राती याक एन्ड यतीमा बैठक बसेर दुवै पक्षका नेताहरूले एक प्रकारको खाका बनाएको स्रोतको दाबी छ।

यस विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार बसेको स्थायी कमिटी बैठकमा छलफल भएको थियो। ओली समूहले नेपाल पक्षका नेताहरूको संवाद सकारात्मक भएकै कारण मङ्गलवार नेपाल पक्षका सांसदहरूलाई थप कारबाही नभएको स्रोतको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ