arrow

सन् २०२७ सम्म भारतको जनसङ्ख्या चीनको भन्दा बढी हुने

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २० बिहिबार
india-croud-population.jpg
फाइल तस्बिर

बेइजिङ। जनसङ्ख्या सम्बन्धी अध्ययन गरिरहेका चिनियाँ विज्ञहरूले संयुक्त राष्ट्रसङ्घले प्रक्षेपण गरे अनुसार सन् २०२७ मा भारतको जनसङ्ख्या चीनको भन्दा बढी हुने बताएका छन्। भारत विश्वमै सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक हुने चिनियाँ जनसाङ्ख्यिक अध्येयताहरूले जनाएका छन्।

चीनमा पछिल्लो केही वर्षमा जन्मदरमा गिरावट आएको हो। सन् २०१५ मा चीनले वान चाइल्ड पोलिसिलाई खारेज गरे पनि विवाह गर्ने युवायुवतीको सङ्ख्या घट्नु र विवाह गरेकाहरूले पनि एक सन्तान मात्रै जन्माउनुले चीनमा जनसङ्ख्याको अवस्थामा निकै समस्या निम्तिएको हो।

संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टका अनुसार भारतको जनसङ्ख्या २०५० सम्म २७ करोड ३० लाख थपिने प्रक्षेपण गरेको थियो। रिपोर्टका अनुसार सन् २०२७ सम्म भारतको जनसङ्ख्या चीनको भन्दा बढी हुने प्रक्षेपण गरेको थियो।

भारत यही दशकमा विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक बन्नेछ। सन् २०१९ मा भारतको जनसङ्ख्या १.३७ अर्ब छ भने चीनको जनसङ्ख्या १.४७ अर्ब रहेको छ। चीनमा जनसङ्ख्या वृद्धिदर ०.५३ प्रतिशत छ भने भारतमा जनसङ्ख्या वृद्धिदर १.१४ प्रतिशत रहेको छ।

सन् २०१९ मो तथ्याङ्क अनुसार चीनको जनसङ्ख्या वृद्धिदर विश्वमै सबैभन्दा न्यून दरमा भइरहेको समेत जनाइएको छ। सन् २०२० मा कुल जनसाङ्ख्यिक अवस्थाबारे जानकारी गराउने बताए पनि चीनले हालसम्म तथ्याङ्क सार्वजनिक गरेको छैन।

केही चिनियाँ अधिकारीहरूले दिएको जानकारी अनुसार चीनको जनसङ्ख्यामा तीव्र गिरावट आएका कारण तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ भइरहेको इकोनमिक टाइम्सले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ